बुधबार, चैत्र २५, २०८२

मझगाउँ विमानस्थल पुनःनिर्माण गर्न निकुञ्जको सहमति


कान्तिपथ


जग्गा विवादका कारण रोकिएको मझगाउँ विमानस्थल निर्माण पुनः सुरु हुने भएको छ । यसअघि कागजातबिना मध्यवर्ती क्षेत्रमा पर्ने रत्न बाटिकामा सरसफाई गरेको भन्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हस्तक्षेप गरेको थियो ।

अहिले जग्गा प्राप्तिको प्रक्रियासँगै निकुञ्ज प्रशासन र नेपाली सेनाले काम नरोक्ने मौखिक सहमति जनाएपछि निर्माण पुनः सुरु हुने भएको हो । औपचारिक रूपमा जग्गा प्राप्त नभए पनि मौखिक सहमतिका आधारमा निर्माण अघि बढाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताउनुभयो ।

विमानस्थलको दक्षिणतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्नबाटिका र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको खेल मैदान रहेको जमिनको भोगाधिकार नपाउँदा निर्माण रोकिएको थियो ।

विगतमा निर्माण चलिरहेकै बेला निकुञ्ज प्रशासनले निर्माण कम्पनीका ६ जना कामदारसहित उपकरण नियन्त्रणमा मुद्दा चलाएपछि गत चैत १७ गतेदेखि काम रोकिएको थियो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसहित भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरलगायत नेपाली सेना, निर्माण कम्पनीका प्रतिनिधिलगायतको छलफलले निर्माणमा अवरोध नगर्ने लिखित सहमति भएको छ ।

उक्त सहमतिपछि निर्माण कम्पनी कान्छाराम-केएस-उमा एन्ड कम्पनीले काम पुनः सुरु गर्न लागेको हो । यसअघि पनि स्थानीय र जनप्रतिनिधिले विमानस्थल निर्माण पुनः सुरु गर्न पटकपटक मौखिक सहमति जनाइसकेका छन् ।

सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउदै बन्द भएको मझगाउँ विमानस्थल पुनः संचालनका लागि ४५ लाख रुपैयाँमा सम्झौता भएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत