काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
अस्पतालको आज अनुगमनका क्रममा मन्त्री मोदीले निजामतीसहित सबै राष्ट्रसेवक (प्रहरी, संस्थानका कर्मचारी, शिक्षक, जनप्रतिनिधि, खेलाडी) को उपचारको व्यवस्था गर्ने गरी अस्पतालको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सात वटै प्रदेशबाट अस्पतालको सेवा सुरु गरिने बताउनुभयो । अनुगमनका क्रममा मन्त्री मोदीले स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहारमा सुधार गर्नुपर्ने धारणा राख्नुभयो । लामो समयदेखि रोकिएको अस्पताल र कर्मचारीको वृद्धि विकासतर्फ आफूले ध्यान दिने उहाँको भनाइ छ ।
त्यस अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले अस्पतालले हालसम्म गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अस्पतालले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो । अस्पताललाई अति विशिष्टीकृत बनाउँदै चिकित्सा विज्ञान प्रतिष्ठानको रुपमा स्थापना गरी विशिष्ट शिक्षण अस्पतालको रुपमा विकास गर्ने तयारी रहेको पौडेलले जानकारी दिनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ