शुक्रबार, चैत्र २७, २०८२

मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण आधा सकियो


कान्तिपथ


काठमाडौँ । मेलम्ची खानेपानी वितरणका लागि विच्छ्याइएको नयाँ पाइप मध्ये आधाभन्दा बढीमा परीक्षण सकिएको छ । 

कूल एक हजार १० किमी पाइपमध्ये हालसम्म पाँच सय ७६ किमीमा परीक्षण सकिएको र बाँकीको परीक्षण भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । 

आगामी असार मसान्तसम्ममा सबै परीक्षण सकाउने लक्ष्य रहेको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पन श्रेष्ठले बताउनुभयो । “काठमाडौँको भित्री भागमा अहिले परीक्षण भइरहेको छ”, उहाँले भन्नुभयो, “विष्णुमतीबाट पूर्व र टुँडिखेलबाट पश्चिम क्षत्रेमा टेकुदेखि माथिल्लो भागमा परीक्षण बाँकी छ ।” 

उहाँका अनुसार गौशाला, कोटेश्वर क्षेत्रमा परीक्षण भइसकेको छ भने बानेश्वर क्षेत्रमा, कलङ्की–बल्खु क्षेत्रमा पनि परीक्षण भइरहेको निर्देशनालयले जानकारी दिएको छ । 

स्वयम्भू, बालुवाटारलगायतका कतिपय स्थानमा पाइप विच्छ्याउन नै बाँकी छ । गत महिनामा काठमाडौँ उपत्यकाका धेरै स्थानमा पाइप फुट्ने समस्या सबैतिर देखिएपछि हाल परीक्षणपछि उक्त समस्या बिस्तारै कम भएको कार्यालयको दाबी छ । 

परीक्षण भइसकेका स्थानमा नयाँ पाइपबाट पठाइएको र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको ठाउँमा तत्काल मर्मत सुधार गरिरहेकाले चुहावट कम भएको उहाँले बताउनुभयो । चक्रपथभित्र एशियाली विकास बैङ्कको ऋण सहयोगमा सन् २०१३ बाट पाइप विच्छ्याउन सुरु गरिएको थियो । 

हाल मेलम्चीको पानी वितरणका लागि १० वटा रिजर्भ ट्याङ्की सञ्चालनका लागि तयार रहेको निर्देशनालयको भनाइ छ  । जसमध्ये केही ट्याङ्की सञ्चालनमा आइसकेका छन् । नयाँ पाइप प्रयोग भएपछि सबै ट्याङ्की सञ्चालनमा आउने उहाँको भनाइ छ । 

हाल कार्यालयले घर–घरमा वितरणका लागि पोलिथिन पाइप र मुख्य पाइपमा जिआई पाइप प्रयोग गरेको छ । एक हजार पाँच सयदेखि एक हजार छ सय घरलाई एउटा क्षेत्र बनाइएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत