जुम्ला । सिंजा गाउँपालिकाको नराकोटमा खाना महोत्सव सम्पन्न भएको छ । रैथाने बालीको उत्पादन वृद्धि र प्रर्बद्दनका खाना महोत्सवको आयोजना गरिएको थियो ।
रैथाने बालीको प्रर्बद्दन,उत्पादन वृद्धि,घरकै उत्पादन खाने बानीको विकास गर्न माक्सबादी ज्ञान केन्द्रको आयोजना र सिंजा गाउँपालिकाको व्यवस्थापनमा पहिलो पटक सिञ्जामा खाना महोत्सवको आयोजना गरिएको थियो ।
उक्त महोत्सवमा सिञ्जाका किसान शक्तिसिंह खत्री, तपेन्द्र जोशी,तिर्सना हमाल,कालिका हमाल,रमा धिताल,विर्ख बहादुर भण्डारी लगायतका दर्जन बढी किसानले रैथाने बालीको स्टल राखेका थिए ।
भने रैथाने बाली प्रर्बद्दनका लागि स्थानीय महिलाले जोडा चुट्किला,देउडा र सडक नाटक समेत प्रस्तुत गरेका थिए । सांस्कृतिक माध्यमबाट समेत बाली संरक्षणमा जोड दिएका छन् ।

पहिलो पटक भएको खाना महोत्सवले रैथाने बालीको महत्त्वलाई उजागर गरेको छ । रैथाने बालीको प्रर्बद्दनका लागि यस्ता महोत्सवलाई निरन्तरता दिनु पर्ने किसानको माग छ । किसान विर्ख बहादुर भण्डारीले भन्नुभयो,पछिल्लो समय विभिन्न प्रकोपका कारण रैथाने बाली उत्पादन घट्दो छ । बजारमा माग बढेपनि आपूर्ति न्यून छ । उत्पादन वृद्धि गरि निर्यात प्रर्बद्दन गर्न स्थानीय सरकार ठोस नीति बनाउनु पर्छ ।
आयातित वस्तु खाने लत हरेक नागरिकलाई परिसकेको हुनाले रैथाने उत्पादन खान हिचकिच मान्ने गर्छन् । कुनै समय चिनो कागुनो,फापरको पिठो गरिबले खान्छन् भन्ने मान्यता थियो । तर अहिले जुम्लाको अर्ग्यानिक खाना धनीमानीको लागि चौरासी बेन्जन सरह भएको छ ।
मार्क्सवादी ज्ञान केन्द्रका कर्णाली प्रदेश अध्यक्ष जयशंकर धितालले जुम्ली रैथाने बालीमा जुम्लालाई आत्मनिर्भर गराउन,उत्पादन बढाउन यस्तो महोत्सव आगामी दिनमा पनि गरिने बताउनुभयो । जुम्लाको स्याउ,सिमी,ओखर,मार्सी धान,चिनो कागुनो,कोदो फापर लगायतको रैथाने बाली उत्पादन वृद्धि गर्ने उद्देश्यले खाना महोत्सव आयोजना गरिएको हो ।
मार्क्सवादी केन्द्रले केही दिन सिञ्जाका गाउँगाउँमा पुगेर किसानका समस्या बुझ्ने,उत्पादन वृद्धि रैथाने बालीको महत्त्व बुझाउने र किसान भेटघाट गर्ने योजना रहेको बताएको छ ।
‘गाउँको हजारौँ हेक्टर जमिन बाझो छ । मानिसहरू आयातित दाल चामल खान्छन् । काम गर्ने बानीको विकास छैन । खाजा भनेकै चाउ चाउ, चाउमिन हो ठान्छन् । अब स्थानीय बालीको प्रर्बद्दन गर्नु पर्छ ।’, हिमा गाउँपालिकाका प्रवक्ता तिर्थ वडाले बताउनुभयो ।
सिंजा गाउँपालिका उपाध्यक्ष सित्तली रोकायाले रैथाने बानी प्रर्बद्दनका लागि ठोस नीति नै बनाएर अघि बढ्ने बताउनुभयो । उहाँका अनुसार किसानलाई आफ्नै उत्पादनमा सक्षम बनाउन जरुरी रहेको छ ।
मार्क्सवादी केन्द्रका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विश्वेश्वर कट्टेलले कृषि नै मुलुकको मुख्य आय स्रोत भएकोले कृषि र किसानको विकासमा जोड दिनु पर्ने बताउनुभयो । जुम्लाको रैथाने बाली उत्पादन वृद्धि गर्न सरकारले कृषि कर्जा,ब्याजमा अनुदान ढुवानीमा सहुलियत दिनु पर्नेमा जोड दिनुभयो ।
खाना महोत्सवमा मार्क्सवादी ज्ञान केन्द्रका सचिव होमनाथ न्यौपाने उपाध्यक्ष जर्नादन बाबु कट्टेल,डा।निमानन्द रिजाल लगायतको सहभागिता थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ