बुधबार, चैत्र २५, २०८२

अत्यधिक गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा


कान्तिपथ


इनरुवा । दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको हो ।

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको उहाँले बताउनुभयो ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिनुभयो ।

उक्त गाउँपालिकाले समेत जेठ १८ गते देखि २३ गते मङगलबारसम्मका लागि विद्यालयमा बिदा दिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी इटहरी उपमहानगरले समेत दुई दिनका लागि बिदा दिने निर्णय गरेको छ । प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएको भन्दै जेठ १८ र १९ गते बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

अहिले सञ्चालन भइरहेको परीक्षा सञ्चालनमा कुनै असर नपर्ने गरी बिहीबार र शुक्रबार विद्यालयको पठनपाठन बन्द गर्न उपमहानगरले सबै विद्यालयलाई आग्रह गरेको सुवेदीले बताउनुभयो । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत