शुक्रबार, चैत्र २७, २०८२

कार्कीलाई उजुरी हाल्नेसंग धमाधम उजुरी


कान्तिपथ


सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल सुरु भएको छ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिएका २९ मध्ये बैठकमा सहभागी २३ उजुरीकर्तासँग समिति सदस्यले छलफल गरिरहेका हुन्। प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई, अधिवक्ता अमृत खरेललगायतले उनलाई अयोग्य घोषित गर्नुपर्ने भन्दै समितिमा उजुरी दर्ता गराएका छन्।

आज ज्येष्ठ सदस्यका रूपमा बैठकको सभापतित्व गरेका पशुपतिशमशेर जबराले सामान्य प्रकृतिका उजुरीमाथि छलफल अगाडि बढाउन आग्रह गरेपछि समिति सदस्यले उजुरीकर्ताको उजुरीअनुसार बैठकमा बोलाएर छलफल गरिरहेका हुन्।

यसअघि बैठकमा समिति सदस्य सांसद जनार्दन शर्माले उजुरी फरक–फरक खाले भएका कारण सबैलाई एकै ठाउँ राखेर छलफल गर्नुभन्दा उस्तै प्रकृतिका उजुरीलाई एकै ठाउँ राखेर छलफल गर्नुपर्नेमा जोड दिए।

सांसद महेश बर्तौलाले उजुरी अनुमान गरेअनुसार नै आएको बताउँदै आवश्यकता र विषयको गहनता हेरेर मात्रै छलफल अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।

कतिपय उजुरी राजनीतिक प्रकृतिका भएका कारण तिनलाई फरक–फरक ढंगले छलफल गर्नुपर्ने उनको भनाइ थियो। सांसद रमेशजंग रायमाझीले भने, ‘कुन विषयलाई गहन भन्ने, कुन विषयलाई सामान्य भन्ने? सबैले गहन विषय भएरै उजुरी दिएको हुनुपर्छ। त्यसैले सबैभन्दा पहिला उजुरीकर्ताको उजुरी सुनौं अनि छलफल अगाडि बढाऔं।’

समितिले हिजो मात्रै प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीमाथि ३२ जेठमा सुनुवाइ बताएको थियो। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्। संसदीय सुनुवाइ विशेष समितिले सबै उजुरीकर्तासँग छलफल गर्न लागेको हो।

त्यसपछि कार्कीलाई प्रधानन्यायाधीश बनाउने–नबनाउने भन्नेबारे सुनुवाइ गर्ने समितिको तयारी छ। सोमबारको समिति बैठकले उजुरीबारे प्रारम्भिक छलफल गरेपछि आज उजुरीकर्तालाई बोलाएको हो। उजुरीकर्ताको कुरा सुनेपछि कार्कीलाई त्यसबारे प्रस्ट पार्न अवसर दिइनेछ।

यी प्रक्रिया पूरा गरेपछि उनको सिफारिस सदर वा बदर गर्ने भन्नेबारे समितिले निर्णय लिनेछ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। १६ जेठमा सर्वोच्चमा सिफारिस गरिएका प्रधानन्यायाधीश कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन सुनुवाइ समितिले सूचना निकालेको थियो।

यसअघि २९ जेठमा बसेको बैठकमा संसदीय सुनुवाइ समितिका सदस्यले प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध परेका उजुरीमाथि छलफल गर्ने निर्णय भएको थियो। संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेका कार्कीविरुद्ध परेका उजुरीको अध्ययन मसिनो गरी भइरहेको बैठकमा सहभागी समिति सदस्य एवं एमाले सचेतक महेश बर्तौलाले बताए। सोही बैठकले आजका लागि उजुरीकर्तालाई छलफलमा बोलाउने निर्णय गरेको हो।

उजुरीमाथिको छलफल सकिएपछि कार्कीलाई समितिमा बोलाएर सोधपुछ गरिनेछ। गत आइतबार मात्रै कामु प्रधानन्यायाधीश कार्कीलाई अवकाशको मितिबारे न्याय परिषद्ले सम्झाएको थियो। कार्की ६५ वर्षे उमेर हदका कारण आगामी २० साउनदेखि अनिवार्य अवकाशमा जानेछन्। अवकाशको एक महिनाअघिदेखि प्रधानन्यायाधीश इजलासमा बस्न नपाउने कानुनी प्रावधान छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत