शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौँ : प्रधानमन्त्री प्रचण्ड


कान्तिपथ


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताउनुभएको छ।

सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताउनुभएको हो ।

भेटमा ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन, सडक र पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक कनेक्टिभिटी जोड्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

भेटमा प्रधानमन्त्रीले क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको र खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण राज्यसंयन्त्र परिचालन गर्न पहल लिइरहेको बताउँदै कनेक्टिभिटी टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको बताउनुभयो ।

तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशित गरेको बताउँदै प्रधानमन्त्रीले खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने पनि बताउनुभयो ।

भेटमा पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लिला बखिन, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री लगायतका नेता एवं जनप्रतिनिधिहरू उपस्थित हुनुहुन्थ्यो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत