वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा गाई, गोरु लगायतका पशुहरूमा लाग्ने लम्पीस्किन रोगको संक्रमण देखिएको छ ।
यस रोगले ग्रसित पशुहरूको जीउभरि फोका जस्ता घाउ देखापरेको छ । धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरका गाई पालक किसान उपेन्द्र पटेलले पालेको गाईमा यो रोग फेला परेको छ । गाउँघरमा यसरी एकाएक रोग देखापरे पछि स्थानीय पशुपालक किसान चिन्तित भएका छन् ।
गोठमा भएका पशुहरूमा लाग्ने यो रोगले ग्रसित भएको पशुहरू गोठमै लम्पसार हुन थालेका छन् । यो रोग एक पशुबाट अर्को पशुको सम्पर्कमा आएपछि संक्रमण फैलिँदै गएको छ । यो विशेष गरेर गाई भैँसीमा लाग्ने रोग भए पनि यसको प्रकोप भैँसी भन्दा गाईमा बढी देखिएको छ ।
जिउमा फोका घाउ जस्तो हुने, पशुलाई उच्च ज्वरो आउने, खाना नखाने, दूधमा ह्रास आउने जस्ता लक्षणहरू देखिन्छन् । यो रोग कडा प्रकारको भए पशुको मृत्युसमेत हुने गरेको छ ।
यो रोग नभई भाइरसको संक्रमण भएकाले यसको खासै उपचार नभए पनि लक्षणअनुसार समयमा उपचार गरेका पशुलाई बचाउन सकिने पशु चिकित्सक डा. मुरलिधर पाण्डेले जानकारी दिनुभयो ।
धोबिनी गाउँपालिकाको हरिहरपुरमा पालिएको गाईमा विशेष गरि यो रोग देखिए पनि यसबारेमा जिल्ला पशु कार्यालय पर्सा भने बेखवर रहेको देखिएको छ । उक्त रोगको उपचार नभए पनि रोकथामका लागि विज्ञसहितको टोली खटाउनुपर्ने माग पीडित पशुपालक किसानहरूले गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ