शुक्रबार, चैत्र २७, २०८२

कामपाले गर्‍यो चालु आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण


कान्तिपथ


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ ।

सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा कामपाले चालु आवमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको महानगरप्रमुख बालेन्द्र शाहले बताउनुभयो ।

उहाँका अनुसार एक वर्षअघि भएको स्थानीय तहको निर्वाचनको समयमा आफूले जारी गरेको घोषणापत्रअनुसार काम गर्दै जाने क्रममा एक वर्षको अवधिमा उक्त सार्वजनिक जग्गाको संरक्षण गर्न सम्भव भएको हो ।  

घोषणापत्रमा भनेअनुसारको काम गर्ने पुनः प्रतिबद्धता जनाउँदै प्रमुख शाहले नयाँ पार्क निर्माण, स्मार्ट सडक बत्ती जडान, फुटपाथमा राखिने गरिएका पसल हटाउने र  त्यसको सहज प्रयोगमा ल्याउने काम पनि एक वर्षको अवधिमा भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।  

निर्वाचनको बेला भएको घोषणाअनुसारै शारीरिक तन्दुरुस्ती, सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कको निर्माणको काम उल्लेख्य रूपमा भएको पनि उहाँले बताउनुभएको छ । त्यस्तै एक वर्षकै अवधिमा २५ वटा नयाँ पार्क निर्माण भएको बताइएको छ । 

सहरको सुरक्षा र पैदल यात्रीलाई सहजता प्रदान गर्नका लागि कामपाले यस अवधिमा एक हजार सात सय स्मार्ट सडक बत्ती जडान गरेको छ ।  त्यस्तै ४२ किलोमिटर सडक कालोपत्र, सात किलोमिटर नयाँ ढल निर्माण, एक हजार पाँच सय मिटर फुटपाथ निर्माण भएको पनि प्रमुख शाहले जानकारी गराउनुभयो ।  

सार्वजनिक शौचालय र सामुदायिक विद्यालय भवन निर्माण तथा मर्मत पैदलयात्रीको सहजताका लागि सडक किनारामा राखिने फुटपाथ पसल हटाएर यात्रुलाई आवागमन गर्न सहज र सरल बनाइएको छ । जसका कारण बानेश्वर, बसपार्कलगायतका स्थानमा आवतजावतमा निकै सहज भएको बताइएको छ ।  

त्यसैगरी यसै शैक्षिक सत्रदेखि कामपामा रहेका सबै सामुदायिक विद्यालयमा पहिलोपटक बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन भइरहेको छ भने माध्यमिक तह कक्षा ९ देखि १२ सम्म शिक्षामा सिम कार्यक्रम लागू भइसकेको छ । कामपामा रहेका ५९ वटा माध्यमिक विद्यालयमध्ये ५६ वटामा यो कार्यक्रम लागू भइसकेको छ । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत