शुक्रबार, चैत्र २७, २०८२

सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ : प्रधानमन्त्री


कान्तिपथ


काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ । 

प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबिन गर्ने र दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकमा उहाँले सुन प्रकरणलगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पु¥याउन सरकार दृढ रहेको स्पष्ट पार्नुभयो । 

यही साउन ३ गते राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट ठूलो मात्रामा सुन बरामद गरेका थियो । हाल सरकारले सो सम्बन्धमा अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । 

मुलुक विकासको बाधकका रुपमा रहेको भ्रष्टाचार, अनियमितता, कमिसन जस्ता विषयलाई अन्तिम निष्कर्षमा पुर्‍याउन कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पार्दै प्रधानमन्त्रीले निर्दोष नफस्ने र दोषीलाई उम्कन नदिने विषयमा सरकार दृढ रहेको बताउनुभएको नेकपा (माओवादी केन्द्र)का सचिव दिनानाथ शर्माले जानकारी दिनुभयो । 

बैठकमा पार्टीका उपमहासचिव बर्षमान पुनले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन आग्रह गर्नुभएको छ । उहाँले सो प्रकरणमा जोडिएका सबैलाई छानबिनको दायरामा ल्याउन र कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो । 

सरकारले अगाडि बढाएको भ्रष्टाचार र अनियमितता विरुद्धको अभियानलाई प्रभावित पारेर अन्यत्रै मोड्न र दोषी उम्काउनका लागि आफ्नो नाम समेत जोडेर प्रचार गरिएको उहाँको भनाइ छ । उपमहासचिव पुनले भ्रष्टाचार र अनियमितता विरुद्ध सरकारले अगाडि बढाएको अभियानलाई सफल बनाएरै छाड्नुपर्नेमा जोड दिनुभएको थियो । 

यही साउन १७ गतेदेखि बस्न लागेको पार्टीको केन्द्रीय समितिको बैठकको कार्यसूची तय गर्नका लागि माओवादी केन्द्रको पदाधिकारी बैठक लगातार बसिरहेको छ । सोही क्रममा आज पनि बैठक बसेको हो । 

केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक एवम् साङ्गठनिक प्रतिवेदन पेश गर्नुहुनेछ । सो विषयमा समेत आजको बैठकमा छलफल भएको थियो । यस्तै आगामी मंसिरमा विधान सम्मेलनको आयोजना गरी पार्टीको साङ्गठनिक संरचनालाई चुस्त दुरुस्त बनाउने समेत तयारी गरिएको छ ।

बैठक प्रत्यक्ष प्रसारण हुन्छ

नेकपा (माओवादी केन्द्र)का सचिव शर्माका अनुसार केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने बताउनुभयो । 

उहाँले आम सर्वसाधारण, पार्टी कार्यकर्ता र देशबासीलाई समेत प्रत्यक्ष जानकारी दिने उद्देश्यले बैठकको सबै कारबाही प्रत्यक्ष प्रसारण गर्न लागिएको जानकारी दिनुभयो । यसअघि समूहगत रुपमा गरिँदै आएको छलफल नगरी सबै केन्द्रीय सदस्यलाई बोल्न दिइने गरी कार्यक्रम तय भएको उहाँको भनाइ छ । 

यसअघि नेपाली काँग्रेसले पनि केन्द्रीय समितिको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरेको थियो । 

काँग्रेसले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गरेपछि राष्ट्रियसभा सदस्य बामदेव गौतमले काँग्रेसको उक्त निर्णयको प्रशंसा गर्दै कम्युनिष्ट पार्टीको बैठक पनि प्रत्यक्ष प्रसारण गर्न सुझाव दिनुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत