म्याग्दी । प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीको एउटा पदमार्ग हो, ‘मौरीज हर्गोज पदर्माग’ । यस पदमार्गबाट सुन्दर र लोभलाग्दो अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने अन्नपूर्ण हिमालको अवलोकन गर्ने नर्थ अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । यस क्षेत्रमा सहज पदमार्गका पूर्वाधार बनेपछि स्वदेशी तथा विदेशका धेरै पर्यटकहरू यस क्षेत्रमा पुग्ने गरेका छन् ।

८०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दृश्य अवलोकन गर्न ४१९० मिटर उचाइमा रहेको ‘नर्थ अन्नपूर्ण आधार शिविर’ मा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।

फ्रान्सका मौरिस हर्गोजले सन १०५० जुन ३ मा अन्नपूर्ण हिमाल सफल आरोहण गरेपछि त्यसपछि हिमाल चढ्ने क्रम सुरु भएको थियो । २०६८ सालमा ‘मौरिज हर्जोग पदमार्ग’ नामाकरण गरेर आधार शिविर पुग्ने पदमार्ग, खोलामा झोलुङ्गे पुल, आश्रय स्थल लगायतको पूर्वाधार निर्माणले पर्यटकको आगमन बढेको मौरिज हर्जोग पदमार्ग निर्माण समितिका अध्यक्ष तेज गुरुङले बताउनुभयो ।

आधार शिविरमा समथर फाँट, पञ्चकुण्ड ताल, ताल नजिक रहेका अग्ला हिमाल, सूर्योदयले चम्केका सेताम्मे अन्नपूर्ण र निलगिरि लगायतको हिमाल नजिकबाट अवलोकन गर्न पाइन्छ ।

अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङदेखि हुमखोलासम्म सडक सुविधापछि २२ किलोमिटर हर्जोग पदमार्गको पदयात्रामार्फत अन्नपूर्ण हिमालको आधार शिविरमा पुग्न सकिन्छ ।

यस क्षेत्रमा पुगेका पर्यटकको सुझाव अनुसार आधार शिविरमा सञ्चार, खानेपानी, आश्रय स्थल थप, पदमार्गको स्तरोन्नति, गोदामलगायतको पूर्वाधार विकासमा योजनाबद्ध पहल भइरहेको गाउँपालिका अध्यक्ष भारतबहादुर पुन (भरत) ले जानकारी दिनुभयो ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ