काठमाडौं : काठमाडौं महानगरपालिकाले खुल्ला दूध प्लाष्टिकमा हालेर रवरले बाँधेर बेच्न नदिने तयारी गरेको छ। महानगरले खुल्ला दूध प्लाष्टिकमा हालेर रवरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत भएकाले यसलाई तत्काल रोक लगाउने भएको हो।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले खुल्ला रुपमा वेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने बताइन्।
बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा उनले बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन निर्देशन दिएकी छन्। ‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो संक्रमण फैलिन्छ। यसको स्रोतहरु मासु पसल, दूध डेरी, तरकारी तथा फलफुल पसल हुन्।’ उनले भनिन्, ‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो। मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउनु पर्छ।’
बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भने,‘खुल्ला दूध प्लाष्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो। यसलाई तत्काल रोक लगाउनुपर्छ।’
तरकारी र फलफूल सस्तोमा किनेर ल्याएर सडक किनारामा भाग लगाएर बेच्ने काम जनस्वास्थ्यका दृष्टिले पनि जोखिमपूर्ण भएको महानगरको भनाई छ। यसैगरी महानगरले कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने भएकाले जार जफत र नष्ट गर्न थालेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ