विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचार, बेथिति र विकृतिका विरुद्ध सङ्घर्ष शुरु भइसकेकाले त्यसलाई समाप्त पार्ने प्रतिज्ञा आफूले लिएको बताउनुभएको छ ।
नेकपा माओवादीको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा नेपालको सन्देश सभालाई विराटनगरमा सम्बोधन गर्नुहुँदै भ्रष्टाचार विरुद्धको लडाइँमा साथ दिन नेपाली जनतालाई आग्रह गर्नुभयो ।
उहाँले भ्रष्टाचार विरुद्धको लडाई शुरु गरेपछि हजारौँ किसिमका चालबाजी र षडयन्त्र शुरु भएको उल्लेख गर्नुहुँदै सरकार र गठबन्धन दलको प्रयासले मात्रै सार्थक नहुने भएकाले जनताको साथ अपरिहार्य रहेको बताउनुभयो ।
सरकार कति दिन टिक्छ भन्नेबारे आफूलाई कुनै परवाह नभएको भन्नुहुँदै प्रधानमन्त्री दाहालले विभिन्न खालका भ्रष्टाचार काण्डलाई निष्कर्षमा पुर्याइ छाडने उल्लेख गर्नुभयो ।
उहाँले भ्रष्टाचार र बेथितिमाथि प्रहार नभएसम्म सामाजिक रूपान्तरण र समाजवादको आधार तयार हुन नसक्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सवारी लाइसेन्स, पासपोर्ट जस्ता विषय लगायत हरेक प्रकारका सेवालाई सहज बनाइएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले देशबाहिर रहेका तीन लाख नेपाली युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको, तराई मधेस तथा पहाडमा विकराल समस्याको रुपमा रहेको नागरिकताको विषय समाधान गर्नुका साथै मिटर ब्याजको समस्या समाधान प्रक्रिया लगायतका काम जनताको मन जित्ने गरी गरिएको बताउनुभयो ।
एकिकृत समाजवादीका अध्यक्ष एवं समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालले वर्तमान सरकारले जनताको पक्षमा उल्लेखनीय काम गरिरहेको बताउनुभयो ।

उहाँले मुलुकको सम्वृद्धि र विकासका लागि मिसन समाजवादको अभियान लिएर मोर्चा अघि बढेकाले यो अभियानले जनतामा आशा र भरोसाको उत्साह जगाएको बताउनुभयो ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक स्थायित्व, सामाजिक न्याय तथा सुशासनका निम्ति सरकार अघि बढ्नुपर्ने बताउँदै साना तिना कुरामा नअल्झन सरकारलाई आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली जनताको चाहना अनुसार गठन भएको समाजवादी मोर्चाले जनताको हितमा काम गर्ने दाबी गर्नुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ