शुक्रबार, चैत्र २७, २०८२

एसिया कप-२०२३ को फाइनलमा श्रीलंका र भारत भिड्ने


कान्तिपथ


रोमाञ्चक खेलमा पाकिस्तानलाई डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार दुई विकेटले हराउँदै साविक विजेता श्रीलंका एसिया कप-२०२३ को फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताकाे उपाधिका लागि श्रीलंकाले अब आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

बिहीबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको २५२ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टिमले निर्धारित ४२ ओभरमा आठ विकेट गुमाएर २५२ रननै बनाएको थियो । वर्षाका कारण खेलको निर्धारित ओभर ४२ ओभरमा झारिएको थियो ।

श्रीलंकाको जितमा कुशल मेन्डिसले ९१ रन बनाए । कुशलले ८७ बलमा आठ चौका र एक छक्का प्रहार गरे । ७७-२ को अवस्थामा रहँदा कुशलले सदीरा समराविक्रमासँग तेस्रो विकेटका लागि १०० रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ उकासेका थिए ।

समराविक्रमाले ४८ रन बनाए । चरिथ असलन्काले अविजित ४९, पथुम निसन्काले २९ र कुशल परेराले १७ रन थपे । पाकिस्तानका इफ्तिखर अहमेदले तीन विकेट लिए । साहिनसाह अफ्रिदीले दुई र सदाब खानले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित ४२ ओभरमा सात विकेट गुमाएर २५२ रनको योगफल खडा गरेको थियो ।

पाकिस्तानका मोहम्मद रिजवानले अविजित ८६ रन बनाएका थिए । रिजवानले ७३ बलमा ६ चौका र दुई छ्क्का प्रहार गरे । अब्दुल सफिकले ५२, इफ्तिखर अहमेदले ४८, कप्तान बाबर आजमले २९ र मोहम्मद नवाजले १२ रन जोडेका थिए ।

श्रीलंकाका मथिसा पथिरानाले तीन विकेट लिए । प्रमोद मदुसनले दुई विकेट लिँदा महीसा थिक्षणा र दुनिथ वेलालागेले समान एक विकेट लिए ।

जितसँगै तीन खेलबाट चार अंक जोडेको श्रीलंका सुपर फोरको दोस्रो स्थानम रहँदै फाइनल प्रवेश गरेको हो । सुपर फोरको पहिलो खेलमा बंगलादेशलाई २१ रनले हराएको श्रीलंका दोस्रो खेलमा भारतसँग ४१ रनले पराजित भएको थियो ।

यसअघि पहिलो खेलमा बंगलादेशलाई सात विकेटले हराएको पाकिस्तानले भारतसँग भने २२८ रनको हार बेहोरेको थियो ।प्रतियोगितामा भारतले भने शीर्ष स्थानमा फाइनलमा स्थान बनाइसकेको छ । भारतले आज सुपर फोरको अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्दै छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत