बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • यातायात
  • टोखा-छहरे सुरुङमार्ग बनाउन चिनियाँ सरकार सकारात्मक: अर्थमन्त्री डा महत

टोखा-छहरे सुरुङमार्ग बनाउन चिनियाँ सरकार सकारात्मक: अर्थमन्त्री डा महत


कान्तिपथ


काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले आयोजना गरेको तीज शुभकामना कार्यक्रममा उहाँले परियोजना निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि रू एक अर्ब छुट्याएको र थप रकम लगानीका लागि चीन सरकारसमक्ष प्रस्ताव पठाइएकामा सकारात्मक जवाफ आएको बताउनुभएको हो ।

“यो आयोजनामा चिनियाँ लगानी ल्याउन दुई पक्षबीच पत्रको आदानप्रदान भइसकेको छ । यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा यो आयोजना पहिलो प्राथमिकतामा राखेका आसयको पत्र चीन सरकारले दिएको छ ।”

यो आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको जानकारी दिँदै अर्थमन्त्री डा महतले अब विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययनपछि निर्माण प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । “सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो, धेरै पक्षमा ध्यान पुर्‍याउनुपर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ, अध्ययन सकिने वित्तिकै सुरुङमार्गको काम अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।

टोखा–छहरे सुरुङमार्ग निर्माणको काम भौतिक मन्त्रालयले, स्रोत जुटाउने काम अर्थ मन्त्रालय र वातावरणसम्बन्धी काम वन मन्त्रालयको हुने भएकाले सबै निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । त्यस्तै नुवाकोटको सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र नभइ रसुवा नाकासम्म स्तरोन्नति हुने पनि अर्थमन्त्री डा महतले बताउनुभयो ।

पृथ्वी राजमार्गको ट्राफिक व्यवस्थापन र अन्तर्राष्ट्रिय व्यापारका लागि यो बाटो सबैभन्दा छोटो हुने उहाँको भनाइ छ । त्यस्तै ढिकुरे र सिम्ला सिँचाइ आयोजना पनि सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत