ललितपुरमा आजदेखि थप १४ सय स्मार्ट स्ट्रिट लाइट बल्ने भएको छ । एक वर्षअघि पहिलो चरणअन्तर्गत ६ सय ६९ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको ललितपुरले आज (बिहीबार) देखि थप १४ सय लाइट बाल्दै छ । यी बत्तीले बाँकी रहेका चोक र सडकसमेत झलमल्ल हुने महानगरको विश्वास छ ।
महानगरका मेयर चिरिबाबु महर्जन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले आज यी १४ सय लाइटको संयुक्त रूपमा उद्घाटन गर्दै छन् । पहिलो चरणमा महानगरको पाँच करोड खर्चिएर मुख्य सडकमा स्मार्ट बत्ती बालेको थियो । जसमा कुपन्डोलदेखि–सातदोबाटो, कुपन्डोल–पाटन ढोका, पाटनदरबार क्षेत्र र जावलाखेल एकान्तकुना रुटमा स्मार्ट बत्ती जडान गरेको थियो ।
दोस्रो चरणअन्तर्गतका १४ सय बत्तीमध्ये महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी छ । यस चरणपछि ललितपुरका सबैजसो मुख्य सडक झिलिमिली हुनेछन् । दोस्रो चरणमा सातदोबाटो–हरिसिद्धी, धापाखेल–सुनाकोठी, भैँसेपाटी–बुंगमती, खोकनालगायत क्षेत्रका सडकमा जडान हुनेछन् । लाइट जडानका लागि डिजाइन र टेक्निकल सपोर्ट प्राधिकरणले नै गरेको छ । १४ सयवटा लाइट जडानमा महानगरको आठ करोड र प्राधिकरणको करिब ६ लाख गरी करिब १४ करोड खर्च भएको छ ।
मेयर चिरिबाबु महर्जनका अनुसार स्मार्ट लाइट जडान यतिमै सीमित रहनेछैन । उनले भने, ‘भित्री तथा मुख्य चोकमा अझै बत्ती जडान गर्छौँ । यसप्रकारको लाइटले सडक झिलिमिली पार्छ, सहरी सुन्दरता बढाउँछ ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ