काठमाडाैं । प्रहरी नियमावली अनुसार आईजीपीको उमेर हद ५८, एआईजी र डीआईजीको ५६, एसएसपी र एसपी ५५ वर्ष छ ।
नियमावली २०७१ अनुसार प्रहरी कर्मचारी तीन प्रकारले अवकाशमा जान्छन् । जसमा उमेरहद, सेवाअवघि र पदावधि रहेका छन्। ३० वर्षे सेवाअवधि, उमेर हद र पदावधिमध्ये जुन पहिले आउँछ, सोही कारण अवकाश हुने व्यवस्था छ।
२०५१ को चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका टोलीहरूका धेरै प्रहरी अधिकारीहरू भने उमेरहदका कारण सेवा अवधि र पदावधि बाँकी छँदै घर जाने भएका छन् ।
१९ असारमा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) उमेशराज जोशी अनिवार्य अवकाशमा गए । २१ अर्का डीआईजी पोषराज पोखरेल पनि उमेरहदकै कारण अनिवार्य अवकाशमा गए ।
डीआईजी र एआईजी दुवैको हकमा ५६ वर्ष उमेर भएपछि अनिवार्य अवकाश हुने व्यवस्था छ । पोखरेलले तत्कालिन गृहमन्त्री रवि लामिछानेको ज्याक लगाएर झन्डै एआईजी हुन भ्याएका थिए ।
वैशाख ५ गते मात्रै अर्का एआईजी सन्दिप भण्डारी एक वर्ष सेवा अवधि बाँकी छँदै ५६ वर्षे उमेर हदकै कारण अवकाशमा गएका थिए । ७ वैशाखमा अर्की एआईजी मीरा चौधरी ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा गइन् । ७ बैशाख मै डीआईजी विकासराज खनाल पनि उमेरहदमै कारण अवकाशमा गएका थिए । १० जेठमा अर्का डीआईजी सुरेन्द्र मैनाली उमेरहदकै कारण अनिवार्य अवकाशमा गए ।
प्रहरीका थप ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) ३० वर्षे सेवा अवधि नपुग्दै बिदा हुने भएका छन्। आईजीपी वसन्तबहादुर कुँवरकै ब्याची उमेर हदका कारण ३० वर्ष प्रहरी सेवाबाट बिदा हुने भएका हुन्।
एआईजीहरु श्यामलाल ज्ञवाली, किरण बज्राचार्य र भावी आईजीपीको रुपमा हेरिएका एआईजी दीपक थापाको ब्याचका भीमप्रसाद ढकाल आईजीपी कुँवर भन्दा अगाडी बिदा हुनेछन।
एआईजी श्यामलाल ज्ञवाली आगामी भदौ २६ गते बिदा हुनेछन्। एआईजी किरण बज्राचार्य आगामी पुस १६ गते नै अवकाश हुनेछिन्। ज्ञवाली र बज्राचार्य दुवैले सिआईबीको नेतृत्व गरिसकेका छन् ।
एआईजी भीमप्रसाद ढकाल मंसिर २८ गते घर जानेछन्। मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेल असोज १४ गते, बागमती प्रदेशका प्रहरी प्रमुख विष्णुकुमार केसी र कर्णाली प्रदेशका प्रहरी प्रमुख अर्जुन चन्द ठकुरी पुस १ गते बिदा हुनेछन्। केसी भने ३० वर्षे सेवा अवधिकै कारण भदौ १६ गते अवकाश हुने भएका हुन्।
डीआईजी रामदत्त जोशी कात्तिक १८ गते, डीआईजी किरण राणा कात्तिक १६ गते, केदार ढकाल मंसिर २२ गते र भरतबहादुर बोहरा पुस १४ गते बिदा हुनेछन्।
राजेशनाथ बास्तोला कात्तिक ११ गते र कृष्णहरि शर्मा पोखरेल भदौ १५ गते अवकाश हुनेछन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ