शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • माओवादी बैठक: श्रेष्ठ पक्षको फरक दस्तावेज आउन सक्ने, पदाधिकारी छानिने सम्भावना कम

माओवादी बैठक: श्रेष्ठ पक्षको फरक दस्तावेज आउन सक्ने, पदाधिकारी छानिने सम्भावना कम


कान्तिपथ


संसदबाट अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी अनुमोदनमा संलग्न भएपछि पार्टीभित्र तीव्र मतभेद भइरहेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) सुरु हुँदे छ।

एमसीसी अनुमोदन गर्नै नहुने अडान लिइरहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको समूह अध्यक्ष प्रचण्डसँग असन्तुष्ट हुँदै पार्टी नै छाड्न लागेको भन्ने चर्चाबीच माओवादी केन्द्रको केन्द्रीय बैठक सुरु हुन लागेको हो।

सुरुमा एमसीसी अनुमोदनको विपक्षमा उभिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा ब्यख्यात्मक घोषणा ल्याएर एमसीसीको पक्षमा निर्णय गरेपछि नेता श्रेष्ठसहितको ठूलो पंक्ति असन्तुष्ट भएको छ। असन्तुष्ट श्रेष्ठ पक्षले आज सुरु हुने केन्द्रीय समिति बैठकमा फरक दस्तावेज पेस गर्ने तयारी गरेको छ।

बुधबार र बिहीबार बसेको श्रेष्ठ पक्षको भेलाले फरक दस्तावेजसहित केन्द्रीय समिति बैठकमा सहभागी हुने निर्णय गरेको एक नेताले जानकारी दिएका छन्। ती नेताका अनुसार दस्तावेज बनाउन केही समय लिने प्रस्ताव लैजाने तयारी भएको छ। एमसीसी संसदबाट अनुमोदन भएपछि नेता श्रेष्ठले त्यही साँझ अध्यक्ष प्रचण्डतिर लक्षित गर्दै पार्टीलाई निजी कम्पनी बनाएको आरोप लगाएका थिए। त्यससँगै उनले एमसीसी पास भएको दिनलाई कालो दिनको संज्ञा दिँदै त्यही अनुसार सम्झिने पनि बताएका थिए।

तर श्रेष्ठले पार्टीभित्र देखिएको मतभेदका विषयमा अध्यक्ष प्रचण्डसँग छलफल भइरहेको बताएका छन्। साथै उनले यसलाई अतिरञ्जित ढंगले नबुझ्न आग्रह पनि गरेका छन्।

‘हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तरविराेधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढङ्गले प्रचार भइरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढङ्गले नबुझ्न सबैसँग अनुरोध गर्दछु’, श्रेष्ठले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अध्यक्ष क. प्रचण्ड र मेरोबीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भइरहेको छ।’

पार्टीभित्र असन्तुष्ट चुलिएकै बेला बस्न लागेको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्ने सम्भावना कम रहेको ती नेता बताउँछन्। पुस ११ देखि १८ सम्म महाधिवेशन गरेको माओवादी केन्द्रले २ सय ४६ केन्द्रीय सदस्य र अध्यक्ष मात्र चयन गरेको छ।

महाधिवेशनपछि पुस १९ गते बसेको पहिलो बैठक अध्यक्षमा प्रचण्डलाई चयन गर्दै सकिएको थियो। महाधिवेशनले पदाधिकारी छनोट गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो। माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। विधानअनुसार माओवादीले अब एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ।

आकांक्षी धेरै भएपछि पदाधिकारी चयन नगरी केन्द्रीय सदस्य मात्र चयन गरेर महाधिवेशन सकिएको थियो। पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि पदाधिकारी चयन प्रक्रिया अघि नबढ्न सक्छ। माओवादीको पोलिटब्युरो, स्थायी समिति लगायतका संरचना पनि तत्काल बनाउने संभावना कम छ।

माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनपछि पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो। तर, पार्टी अध्यक्ष प्रचण्ड कोरोना संक्रमित भएपछि बैठक स्थगित गरिएको थियो।

त्यसपछि माघ ८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि कोरोना महामारीका कारण बस्न सकेको थिएन। त्यसपछि फेरि माघ २८–२९ गतेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी स्थगित गरिएको थियो।

यस्तै फागुन ८ गते बोलाइएको बैठक पनि स्थगित गरेर २० गतेलाई सारिएको थियो। महाधिवेशन गरेको २ महिना बितिसक्दा पनि माओवादी केन्द्रले कुनै संरचनालाई पनि पूर्णता दिन सकेको छैन।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत