हप्तादिन अघि अवान्छित तत्वहरुको कारण रोकिएको अनेरास्ववियू (क्रान्तिकारी) कसमस इकाई समितिको ऐतिहासिक १२ औँ इकाई सम्मेलन भव्यता र सभ्यताका साथ सम्पन्न भई छाडेको छ। सम्मेलनमा संगठनका विभिन्न तहका शीर्ष नेताहरुको गरिमामय उपस्थिति रहेको थियो।
अघिल्लो हप्ता माओवादीका केन्द्रीय उपमहासचिव शक्ति बस्नेतदेखिको तागत लगाएर भाँडिएको सम्मेलन आज सम्पन्न भएको हो । कसमसको सम्मेलन रोक्ने बहानामा अखिल (क्रान्तिकारी) को देशभरका अभियान र गतिविधि ठप्प पारिएका थिए ।
आज सम्पन्न सम्मेलनको प्रमुख अतिथिका रूपमा अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तथा विश्वविद्यालय कमाण्ड इन्चार्ज सन्दिप पुन थिए। विशिष्ट अतिथिको रूपमा केन्द्रीय महासचिव रोसन थापा मगर र विश्वविद्यालय प्रदेश इन्चार्ज तथा उपमहासचिव जटिल कार्की उपस्थित थिए।
कार्यक्रममा केन्द्रीय सचिव युन्छोहाङ मावो, केन्द्रीय सचिवालय सदस्य सञ्जित गुरुङ, तथा विश्वविद्यालय प्रदेशका नेता गणेश ज्ञवाली लगायतको उपस्थिति थियो। सम्मेलनको अध्यक्षता संयोजक नवीन अवस्थीले गरेका थिए। सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष पुनले भने, ‘संगठनमा केहि प्रतिगामी तत्वहरु मौलाएका छन्, अघि बढ्न नखोज्ने, पछि फर्कन खोज्नेहरु छन् । त्यस्ता प्रतिगामीहरु विरुद्ध भिड्न आवश्यक छ ।’ उनले अरु संगठन भन्दा अखिल (क्रान्तिकारी) हुनु भनेको फरक हुनु भएको समेत बताए । उपाध्यक्ष पुनले संगठनमा लाद्न खोजिएको अराजकता पुल्चोक कलेजको सम्मेलनबाट तोडिएको र कसमससम्म आईपुग्दा नयाँ रक्तसंचार सुरु भएको बताए । पुनले संगठनको बारेमा कुनै अन्योल नराखी एकजुट भएको संगठन निर्माणमा जुट्न निर्देशन समेत दिए ।
सम्मेलनबाट मनिष अवस्थीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी चयन गरिएको छ। कमिटीको उपाध्यक्षमा मञ्जु बोकटी, अनुप भट्ट, ईश्वर महत रहेका छन् भने सचिवमा अनमोल पाल निर्वाचित भएका छन् । सहसचिवमा विवेक झा, सन्तोष कार्की, अमृत खाम्चा र कोषाध्यक्ष सन्ध्या भुसाल निर्वाचित भएका छन् ।
नवगठित टिमलाई संगठनका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। सम्मेलनले संगठनलाई थप सुदृढ, ऊर्जाशील र संघर्षशील बनाउने विश्वास लिइएको छ।

पोखरा विश्वविद्यालय उपत्यका जिल्ला समितिको मातहत रहेको कसमस मूल इकाइ समितिको १२औं इकाइ सम्मेलन भाँडिएपछि संगठनको उच्च तहमा समेत आरोप–प्रत्यारोप चुलिएको थियो।
२०८२ असार २० गतेका लागि निर्धारित सम्मेलनको उद्घाटन सत्र सुरु हुन लाग्दा केन्द्रीय अध्यक्षको निर्देशनमा संगठनबाहिर रहेका अराजक प्रवृत्तिका व्यक्तिहरूलाई हलमा पठाएर कार्यक्रमको ब्यानर र झण्डा च्यातिएको भन्दै अखिल (क्रान्तिकारी) विश्वविद्यालय प्रदेश समिति र पोखरा विश्वविद्यालय उपत्यका जिल्ला समितिले संयुक्त रूपमा कडा आपत्ति जनाएका थिए।
उक्त घटनापछि विद्यार्थीहरूमाझ सुरु गरिएको तीन महिनाको संगठन सुदृढीकरण अभियान नै नेतृत्वस्तरबाट स्थगन गरिएपछि स्थिति थप जटिल बनेको थियो। अध्यक्ष सापकोटाले अभियान स्थगनको घोषणा गरेलगत्तै उपाध्यक्ष तथा अभियान कमाण्ड सन्दिप पुनले सार्वजनिक अपिल जारी गर्दै अभियान रोकिनु गम्भीर रणनीतिक कमजोरी भएको बताएका थिए। आज पुनले सोहि कलेजमा सफलता पुर्वक सम्मेलन सफल बनाएका छन् !
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ