क्षेत्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सार्वजनिक माफीको माग
अखिल नेपाल यातायात मजदुर संघ, अरनिको विशेष जिल्ला समितिका अध्यक्ष केदार चौलागाईंले बिज्ञप्ती निकाल्दै अरनिको यातायात प्रा. लि. का अध्यक्ष केदार क्षेत्री असब्य रहेको बताएका छन्। उनले जारी गरेको बिज्ञप्तीमा निम्न ब्यहोरा उल्लेख गरिएको छ:
प्रेस-बिज्ञप्ती
बिषय-गम्भीर ध्यानाकर्षण भएको सम्बन्धमा।
पुर्व अरनिको यातायात प्रा.लीका अध्यक्ष केदार क्षेत्रीले हालै सार्वजनिक रूपमा दिएका अभिव्यक्तिहरूलाई लिएर हामी र हाम्रो संगठन गम्भीर रुपमा ध्यानाकर्षण गराउन चाहन्छौं। उहाँद्वारा सार्वजनिक रूपमा बोलिएका घृणास्पद, अलोकतान्त्रिक ,असंवैधानिक, र गैर-राजनीतिक अभिव्यक्तिहरूले यातायात ब्यबसायी , यातायात मजदुर, स्वरोजगार, व्यवसायीहरू र आम नागरिक तथा राजनीतिक दलहरुको भावनामा गम्भिर चोट पुर्याएको छ, उक्त अभिव्यक्तिले गम्भीर सामाजिक र राजनीतिक असन्तुलन निम्त्याउने खतरा समेत देखिएको छ।
विशेष रूपमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र यस पार्टीमा आस्था राख्ने लाखौं श्रमिक, स्वरोजगार र व्यवसायीहरू राजनितीक दलहरु प्रति प्रकट गरिएको अपमानजनक शब्द चयनलाई हामी र हाम्रो संगठन गम्भीररुपमा आपत्तिजनक ठान्दछौं।
श्रम, स्वरोजगार र यातायात क्षेत्रमा राजनीति, विचार वा दलको आस्थाका आधारमा घृणा फैलाउने र बिभाजन सिर्जना गर्न खोज्ने यो प्रयास अस्वीकार्य छ। पूर्व अरनिको यातायात कम्पनीलाई नेपाली कांग्रेसको इकाई कमिटी सरह देखाउने गरी गरिएको टिप्पणी अपमानजनक, भ्रमपूर्ण र श्रमिक/व्यवसायी क्षेत्रको गैर पार्टीगत मूल्यमान्यता विपरीत रहेको स्पष्ट छ।
तसर्थ अरनिको यातायातमा कार्यरत श्रमिक, ब्यबसायी र आम यात्रुहरुको हितमा निम्न माग राख्दछौ।
१. अध्यक्ष केदार क्षेत्रीज्यु आफैंले सार्वजनिक रूपमा गरेका अपमानजनक अभिव्यक्तिहरू फिर्ता लिई तत्काल क्षमायाचना गर्नुपर्छ।
२. अरनिको क्षेत्रका श्रमिक, स्वरोजगार र व्यवसायीहरूमा पर्न सक्ने सम्भावित असरबारे सोचेर जिम्मेवार अभिव्यक्ति दिनुपर्छ।
३. यस्ता गैर-जिम्मेवार व्यवहार तत्काल नरोकेमा त्यसबाट उत्पन्न हुने समग्र परिस्थितिको जिम्मेवारी स्वयं उहाँले लिनुपर्नेछ।
हाम्रो संगठन सधैं शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान, विचार भिन्नताको स्वीकार्यता, र श्रमिक तथा व्यवसायीहरूको पेशागत एकताको पक्षमा उभिँदै आएको छ। यस्ता अभिव्यक्तिले सो एकतालाई खलल पुर्याउँछ र श्रमिक आन्दोलनकै मूल मर्ममाथि चोट पुर्याउँछ र देशब्यापी रुपमा हाम्रा श्रमिकहरु र ब्यवसायीहरु माथी आईपर्ने समस्याहरुमा सचेत रहन अपिल गरदछौ।
हामी शान्तिपूर्ण रूपमा, तर स्पष्ट रूपमा भन्न चाहन्छौं। यस किसिमका अभिव्यक्तिहरूले उत्पन्न गरेका असरहरूको राजनीतिक र सामाजिक जिम्मेवारी उहाँ स्वयंले वहन गर्नुपर्ने छ।

