काठमाडौं, भदौ ९ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) विश्वविद्यालय प्रदेश समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) समक्ष ११ बुँदे मागपत्र बुझाएको छ। क्रान्तिकारीले प्राविधिक शिक्षालाई समयानुकूल, व्यावहारिक र गुणस्तरीय बनाउन तत्काल सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै शिक्षा प्रणालीमा देखिएका कमजोरीहरू सच्याउन सरकार र परिषद्को ध्यानाकर्षण गराएको हो।
मागपत्रमा सबै शैक्षिक संस्थामा व्यवस्थित प्रयोगशाला, कार्यशाला, मोडल उपकरण, पुस्तकालय, ई–लाइब्रेरी र इन्टरनेटको सहज पहुँच उपलब्ध गराउनुपर्ने उल्लेख छ। यस्तै प्राविधिक शिक्षामा अध्ययनरत विद्यार्थीलाई केवल प्रमाणपत्रमा सीमित नगरी व्यावसायिक सीपसँगै रोजगारीको अवसर दिने व्यवस्था मिलाउनुपर्ने, सहुलियतपूर्ण ऋणको पहुँच दिलाउनुपर्ने र उत्पादनमुखी तालिमलाई प्राथमिकता दिनुपर्ने क्रान्तिकारीको जोड छ।
संगठनले परिषद् अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरूको पाठ्यपुस्तक समयमै उपलब्ध हुन नसक्दा विद्यार्थी प्रभावित भइरहेको भन्दै तत्काल पुस्तक वितरणमा सहजता ल्याउन माग गरेको छ। साथै, गरिब, सीमान्तकृत, दलित र पिछडिएका समुदायका विद्यार्थीलाई विशेष अवसर र सुविधा दिनुपर्ने, शिक्षण संस्थामा गुणस्तरीय शिक्षा कायम गर्न नियमित अनुगमन र निरीक्षणको व्यवस्था मिलाउनुपर्ने र सबै कार्यक्रममा पारदर्शिता अपनाउनुपर्ने मागसमेत गरिएको छ।
परीक्षा सञ्चालनमा ढिलासुस्ती हुनु विद्यार्थीका लागि ठूलो चुनौती भएको भन्दै क्रान्तिकारीले निर्धारित समयमा परीक्षा लिई छिटो नतिजा सार्वजनिक गर्नुपर्ने आग्रह गरेको छ। साथै, प्राविधिक शिक्षा लिनेमध्ये धेरै विद्यार्थी आर्थिक समस्याले पढाइ छाड्न बाध्य हुने गरेको भन्दै ‘पढाइसँगै कमाइ’ कार्यक्रमलाई तत्काल लागू गर्नुपर्ने सुझाव दिइएको छ।
संगठनले वर्तमान शिक्षा प्रणालीलाई सामाजिक आवश्यकता र प्राविधिक युगसँग मेल खाने खालको बनाउनुपर्नेमा जोड दिंदै शिक्षा जीवन निर्माण गर्ने औजार भएकाले यसलाई व्यावसायिक र प्रयोगात्मक बनाउनैपर्ने बताएको छ। संगठनका विश्वविद्यालय प्रदेश समिति इन्चार्ज जटिल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा माग पूरा नभए कठोर आन्दोलनमा जाने चेतावनीसमेत दिइएको छ। ज्ञापन पत्र बुझाउने कार्यक्रममा उपाध्यक्ष सन्दिप पुन, उमेश कंडेल, महासचिव रोशन थापा मगर, उपमहासचिव निर्मला गौतम, सचिव युन्छोहाङ माबो लिम्बु लगायतको उपस्थिति थियो ।



देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ