काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको ट्राफिक सप्ताहको समापन कार्यक्रम माघ ३ गते शनिबार दिउँसो ३ बजे ठमेल चोकमा हुँदैछ। विभिन्न कलाकारहरूको सांस्कृतिक तथा सांगीतिक प्रस्तुति सहित आयोजना हुने उक्त कार्यक्रममा युवा पुस्तामाझ लोकप्रिय गायक जोन चाम्लिङ राई, हास्य कलाकार मनोज गजुरेल, किरण केसी, एलिस राई तथा गायिका आस्था राउत लगायत चर्चित कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा हुने समापन कार्यक्रममा जोन चाम्लिङ लगायत युवा पुस्तामाझ अत्यन्त चर्चित गायक तथा कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
‘दुर्घटना न्यूनीकरण’लाई मूल नारा बनाएर सुरु गरिएको ट्राफिक सप्ताह उपत्यकाभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै माघ ३ गते समापन गर्न लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले कान्तिपथलाई बताए।
उनका अनुसार एक हप्तासम्म सञ्चालन गरिएको उक्त कार्यक्रमले जनता र ट्राफिक प्रहरीबीचको दूरी घट्दै सम्बन्ध अझ प्रगाढ बनेको छ। साथै ट्राफिक नियमप्रति जनचेतना बढाउन कार्यक्रम प्रभावकारी भएको पनि उनले बताए।
साथै उक्त कार्यक्रम ठमेल चोकको सञ्चयकोष भवन अगाडि खुल्ला रुपमा हुने भएकोले उपस्थितिको निमित्त अनुरोध समेत उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले गरेको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ