काठमाडौं — प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ। निर्वाचन आयोगका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आचारसंहिता कार्यान्वयनबारे औपचारिक जानकारी गराइसकेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवार मनोनयनको तालिका तय भइसकेको छ। यससँगै राजनीतिक दलहरू उम्मेदवार छनोट प्रक्रियामा सक्रिय भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले आचारसंहिता कस–कसलाई लागू हुन्छ भन्ने विवरण सार्वजनिक गरेका छन्।
आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरूदेखि लिएर संवैधानिक निकायका पदाधिकारी, संघ–प्रदेश–स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय तथा सुरक्षाकर्मी, सरकारी तथा अर्धसरकारी संस्थाका कर्मचारीहरूमा लागू हुनेछ। साथै, स्थानीय कार्यपालिकाका सदस्य, सार्वजनिक पद धारण गरेका व्यक्ति र विभिन्न अनुगमन समिति तथा पर्यवेक्षकसमेत आचारसंहिताको दायरामा पर्नेछन्।
त्यसैगरी राजनीतिक दल, तिनका भातृ संगठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान तथा मतगणना प्रतिनिधि पनि आचारसंहितामा बाध्य हुनेछन्। सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, शैक्षिक संस्था, शिक्षक–कर्मचारी, मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी परियोजना र त्यसमा कार्यरत कर्मचारीहरूमा पनि आचारसंहिता लागू हुनेछ।
निजी क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक क्षेत्र, वस्तु तथा सेवा प्रदायक संस्थाका पदाधिकारी, कर्मचारी र कामदारहरू समेत आचारसंहिताको दायरामा पर्ने आयोगले जनाएको छ। यसका अतिरिक्त, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा आयोगले तोकेका अन्य निकाय वा व्यक्तिहरूलाई पनि आचारसंहिताले समेट्नेछ।
निर्वाचन निष्पक्ष, स्वच्छ र मर्यादित रूपमा सम्पन्न गर्न आचारसंहिताको कडाइका साथ पालना गरिने निर्वाचन आयोगले स्पष्ट पारेको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ