सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतोको मंगलबार निधन भएको हो। दिउँसो करिब २ बजे मतदान केन्द्रमै अचानक बेहोस भएपछि उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। अस्पताल पुर्याएको झण्डै आधा घण्टापछि चिकित्सकले मृत घोषणा गरेका थिए।
महतो रौतहटको माधवनारायण नगरपालिका–६ का स्थायी बासिन्दा हुन्। उनी सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबका रूपमा कार्यरत थिए।
उनको निधनबारे जानकारी प्रादेशिक अस्पताल मलंगवाका प्रहरी कर्मचारीमार्फत जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई प्राप्त भएको जनाइएको छ। जिगडवा आधारभूत विद्यालय मतदान केन्द्र जिल्ला प्रशासन कार्यालयबाट करिब १० किलोमिटर पूर्वमा पर्छ।
मृत्युको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको र पोस्टमार्टमपछि मात्र यकिन कारण खुल्ने चिकित्सकहरूले बताएका छन्। शव हाल प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ र परिवारलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ