चितवन । निर्वाचन ड्युटीमा खटिएका दुई कर्मचारीलाई एक राजनीतिक दलको पक्षमा मत मागेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत माडी माध्यमिक विद्यालय मतदान केन्द्रमा खटिएका एक कर्मचारीले रास्वपाको पक्षमा मत मागेको भन्दै त्यहाँ उपस्थित दलका प्रतिनिधि र स्थानीयले आपत्ति जनाएका थिए। घटनाको जानकारी पाएपछि सम्बन्धित निकायले तत्काल छानबिन सुरु गर्दै ती कर्मचारीलाई मतदान केन्द्रबाट हटाएर मतदान प्रक्रिया अघि बढाइएको थियो। निर्वाचन अधिकृत बेलबहादुर विकले घटना सामान्य भएको बताउँदै कर्मचारीको नाम सार्वजनिक गर्न चाहेनन्।
त्यसैगरी भरतपुर महानगरपालिका–४ स्थित लंकु माध्यमिक विद्यालय मतदान केन्द्रमा खटिएका अर्का कर्मचारीले पनि रास्वपाकै पक्षमा मत मागेको आरोप लागेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
निर्वाचनमा तटस्थ भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारीमा रहेका कर्मचारीले दल विशेषको पक्षमा मत मागेको विषय सार्वजनिक भएपछि स्थानीयस्तरमा विरोध भएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको र दुवै कर्मचारीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ