सल्यान । नेपाल विद्युत प्राधिकरण अन्तर्गत सल्यान वितरण केन्द्रमा एक वडाअध्यक्षले विद्युत मिटर नपाएपछि धर्ना बसेका छन्।
कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्का आफ्ना वडाका तीन जना सेवाग्राहीका लागि मिटर लिन पुगेका थिए। आवश्यक प्रक्रिया पूरा हुँदाहुँदै पनि मिटर उपलब्ध नहुने जानकारी पाएपछि उनले विरोधस्वरूप कार्यालय परिसरमै धर्ना सुरु गरेका हुन्।
ग्रामीण भेगबाट सदरमुकामसम्म पुग्नुपर्ने कठिनाइ र सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै उनले ‘पछि आउनुहोस्’ भन्ने जवाफ अस्वीकार गर्दै तत्काल समाधानको माग गरेका थिए।
साँझदेखि सुरु भएको धर्ना रातिसम्म जारी रह्यो। वडाअध्यक्ष खड्का कार्यालय परिसरमै बस्दै भुइँमा सुतेर पनि आफ्नो मागमा अडिग रहे।
अन्ततः राति करिब साढे १० बजे वितरण केन्द्रले आवश्यक मिटर उपलब्ध गराएपछि धर्ना अन्त्य भएको हो।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ