सोमवार, चैत्र २३, २०८२

पीडितका लागि सहारा बनेको संस्था, स्रोत अभाव ठूलो चुनौती


गणेश विक


काठमाडौंको गोकर्णेश्वर-६ मा सक्रिय “हिंसापीडित महिला, बालबालिका तथा जेष्ठ नागरिक समाज” केवल एउटा संस्था होइन, निस्वार्थ सेवा, आत्मसम्मान र संघर्षको जीवित उदाहरण बनेको छ।

सीमित स्रोतका बीच समाजका पीडित वर्गलाई सहयोग पुर्‍याउँदै आएको यो संस्था बाहिरबाट सानो देखिए पनि यसको भित्र गहिरो संघर्ष, त्याग र अदृश्य पीडा लुकेको हाे।

संस्था सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण कार्य हो, अझ जब त्यो संस्था महिलाको नेतृत्वमा, बिना कुनै बाह्य सहयोग वा प्रभावशाली पहुँच सञ्चालन भइरहेको हुन्छ, त्यतिबेला कठिनाइहरू झन् गहिरा हुन्छन्। समाजको दृष्टिकोण अझै पनि पूर्ण रूपमा परिवर्तन भइसकेको छैन। विशेषतः महिलाले नेतृत्व गरेको संस्था भएमा, कामभन्दा बढी व्यक्तिगत जीवनको चर्चा हुने प्रवृत्ति अझै जीवित छ ।

संस्थाकी कोषाध्यक्ष बिना महतले आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ:
“निस्वार्थ रूपमा काम गर्दा पीडा कति हुन्छ भन्ने कुरा शब्दमा व्यक्त गर्न गाह्रो छ। हामी नारी भएकै कारण धेरै ठाउँमा हेला सहनुपर्छ।

मैले पहिले पनि एउटा संस्थामा लामो समय काम गरेँ, तर त्यहाँ मेरो कामको मूल्याङ्कन भएन, बरु मेरो व्यक्तिगत जीवनको चर्चा गरियो।”

यो भनाइले केवल एउटा व्यक्तिको पीडा मात्र होइन, समग्र समाजको सोच र व्यवहारमाथि गम्भीर प्रश्न उठाउँछ। जब काम गर्ने महिलाको क्षमता र योगदानभन्दा बढी उनको व्यक्तिगत जीवनमाथि टिप्पणी गरिन्छ, त्यतिबेला त्यो केवल अन्याय मात्र होइन, समाजको संकुचित सोचको प्रतिबिम्ब पनि हो।

यही अनुभव र पीडाबाट प्रेरित भएर बिना महतले आफ्ना केही साथीसँग मिलेर यो संस्था स्थापना गर्नुभएको हो। उहाँको स्पष्ट धारणा छ-

“जहाँ कामको मूल्य हुँदैन, त्यस्तो संस्थामा बस्नु हुँदैन।”
यस संस्थाले कुनै चन्दा संकलन वा बाह्य सहयोगमा निर्भर नभई, आफ्नै सदस्यहरूको मासिक योगदानबाट सेवा सञ्चालन गरिरहेको छ। महिनामा २/४ हजार रुपैयाँ जम्मा गरेर पीडित महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई राहत, सहयोग र न्याय दिलाउने प्रयास भइरहेको छ। यहाँ न त VIP को उपस्थिति छ, न त प्रचारमुखी गतिविधि-केवल सेवा, समर्पण र जिम्मेवारीको भावना छ।

तर, यस्तो निस्वार्थ काम गर्दा पनि आलोचना, शंका र अविश्वासको सामना गर्नुपरेको वास्तविकता लुकाउन सकिँदैन। “संस्था भनेपछि डलर खेती” भन्ने आम धारणा यस्ता साना तर इमानदार प्रयासमाथि पनि लागु हुन्छ, जसले काम गर्नेहरूको मनोबल कमजोर बनाउने खतरा हुन्छ।

आज आवश्यक कुरा केवल संस्था खोल्नु होइन, संस्थाको उद्देश्य, पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नु हो। साथै, महिलाको नेतृत्वलाई सम्मान गर्ने, उनीहरूको कामलाई मूल्याङ्कन गर्ने र व्यक्तिगत जीवनभन्दा माथि उठेर योगदानलाई हेर्ने संस्कार विकास गर्न जरुरी छ।

निस्वार्थ सेवा कहिल्यै सजिलो हुँदैन। त्यो त्याग, सहनशीलता र दृढताले भरिएको बाटो हो। “हिंसापीडित महिला, बालबालिका तथा जेष्ठ नागरिक समाज” जस्ता संस्थाहरूले यही कठिन बाटो रोजेका छन्-जहाँ प्रशंसा कम, संघर्ष बढी हुन्छ।

तर, यस्ता प्रयासहरूले नै समाजलाई सही दिशा देखाउने क्षमता राख्छन्। अब प्रश्न हाम्रो हो-के हामी यस्ता निस्वार्थ प्रयासलाई बुझ्ने र साथ दिनेछौं, वा पुरानै सोचको घेरामा सीमित रहनेछौं?



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत