सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। उनी प्युठानका बासिन्दा हुन्।
त्यस्तै, समितिको सदस्यमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।
आचार्यले प्रचण्ड प्रधानमन्त्री र रवि लामिछाने गृहमन्त्री हुँदा सुन तस्करी प्रकरणको छानबिनका लागि गठित चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोगको समेत सफलता पुर्वक नेतृत्व गरेका थिए । आयोगको अन्य सदस्यमा अर्थ मन्त्रालयका किशोरजंग कार्की, गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा थिए । रविले पत्याएका आचार्यलाई अहिले बालेन सरकारले समेत विश्वास गरेको छ ।
आचार्य उच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनी मुख्य न्यायाधीशको वरियतामा रहेर पनि बढुवा नभई अवकाश भएका थिए । यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।
यससँगै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक र मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ