बुधबार, जेष्ठ ४, २०७९

थोरै सन्तान जन्माउने चलन र विदेश बसाइले घटायो जनसंख्या वृद्धिदर


कान्तिपथ


१९ मंसिर, काठमाडौं । काठमाडौं नयाँ बानेश्वरकी ईश्वरी थापाकी सात वर्षकी छोरी छिन् । थापा दम्पतीले अर्को सन्तान नजन्माउने निर्णय लिइसके र स्थायी बन्ध्याकरण समेत गरिसके ।

‘धेरै सन्तान जन्माएर दुःखले हुर्काउनुभन्दा एउटालाई नै राम्रो लालनपालन र शिक्षा दिने सोच हो,’ ईश्वरी भन्छिन् । पछिल्ला वर्षमा यसैगरी एक वा बढीमा दुई जना सन्तानमा चित्त बुझाउने दम्पतीको संख्या बढ्दो छ । शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण भेगमा पनि दुई भन्दा बढी सन्तान जन्माउनेको संख्या घट्दो छ ।

यो तथ्यलाई राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले पनि पुष्टि गर्छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा एउटा परिवारमा औसतमा ४.३२ जना रहेका छन् । यस्तो संख्या २०६८ सालमा ४.८८ जना रहेको थियो ।

धेरै बच्चा जन्माइने मधेश प्रदेशमा २०६८ सालमा एउटा परिवारमा औसतमा ५.८० जना सदस्य रहेका थिए । २०७८ को प्रारम्भिक नतिजामा त्यहाँ पनि परिवारको आकार घटेर औसत ५.१५ जनामा झरेको छ ।

कणर्ालीमा २०६८ सालमा एउटा परिवारमा ५.४३ जना सदस्य रहेकामा २०७८ मा ४.६२ मा झरेको छ । यसले धेरै बच्चा जन्माउने प्रवृत्तिमा कमी आएको पुष्टि गर्ने केन्द्रीय तथ्यांक विभागको ठहर छ ।

२०६८ को जनगणनामा भन्दा २०७८ मा नेपालको जनसंख्या करिब २७ लाखले बढेको छ । यसको अर्थ नेपालमा एक वर्षमा करिब २ लाख ७० हजार जनसंख्या थप हुन्छ । २०६८ सालमा जनसंख्याको वृद्धिदर १.३५ प्रतशित थियो, तर अहिले ०.९३ प्रतिशतमा झरेको छ ।

२०६८ सालकै वृद्धिदर कायम रहेको भए २०७८ सालको जनसंख्या ३ करोड भन्दा बढी हुने थियो । तर, राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले त्यस्तो देखाएन । जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० मै सीमित रहृयो ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या विभागका प्राध्यापक महेन्द्रप्रसाद शर्माका अनुसार २०६८ सालकै दरमा जनसंख्या बढेको भए सालाखाला ५१ वर्षमा जनसंख्या दोब्बर हुने थियो । तर, २०७८ को जनसंख्या वृद्धिदर ०.९३ मा झरेकाले जनसंख्या दोब्बर हुन ७५ वर्ष लाग्नेछ ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार २०६८ सालमा एक महिलाले औसतमा ३ जीवित बच्चा जन्माउने गरेकी थिइन् । तर, सन् २०१९ मा गरिएको बहुसूचक सर्वेक्षणले १५ देखि ४९ वर्ष उमेर समूहका महिलाले २ जनामात्र जीवित बच्चा जन्माएको पाइएको छ । अझ शहरी क्षेत्रमा यो संख्या अझ कम छ । लामिछानेका अनुसार काठमाडौं उपत्यकामा एक महिलाबाट औसतमा एक जनाभन्दा पनि कम बच्चा जन्मिएको तथ्यांक सो सर्वेक्षणबाट आएको थियो । सोही सर्वेक्षणसँग मेल खानेगरी यस पटक जनसंख्या वृद्धिदर पनि व्यापक घटेको विभागले बताएको छ ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय बसाइसराइको असर

जनसंख्याका प्राध्यापक महेन्द्रप्रसाद शर्मा जनसंख्याको वृद्धिदर घटनुका अनेक कारण भए पनि नेपालमा कम बच्चा जन्माउने प्रवृत्ति र बसाइसराइका कारण जनसंख्या वृद्धिदर घटेको हो । ‘मूल रुपमा प्रजनन दर घट्नु र बसाइसराइ बढ्नु नै जनसंख्या वृद्धिदर घट्नुको कारण हो,’ शर्मा भन्छन् ।

तथ्यांक विभागका निर्देशक लामिछाने जनसंख्याको वृद्धिदर कम घट्नुमा अन्तर्राष्ट्रिय बसाइसराइले प्रमुख भूमिका निर्वाह गरेको छ । २०६८ सालको तुलनामा २०७८ सालमा पुरुष मात्र नभई महिला विदेशिने क्रम पनि बढेको छ । २०७८ मा विदेशिने महिलाको संख्या ७१.०९ प्रतिशतले बढेको छ । यसरी विदेशिने महिला प्रजनन क्षमता बढी हुने उमेरकै छन् । जसले गर्दा नेपालमा बच्चा जन्मने दर कम हुने निर्देशक लामिछाने बताउँछन् ।

तथ्यांकअनुसार २०६८ सालमा २ लाख ३७ हजार ४ सय महिला विदेशमा बसोबास गरेकामा २०७८ मा यो बढेर ४ लाख ६ हजार १ सय ३ पुगेको छ । २०६८ सालमा १६ लाख ८४ हजार २९ जना पुरुष विदेशमा बसोबास गर्ने गरेकामा अहिले बढेर १७ लाख ६३ हजार ३ सय १५ जना पुगेको छ ।

जनगणनाको प्रारम्भिक नतिजाअनुसार अहिले २१ लाख ६९ हजार नेपालीहरु अक्सर देशबाहिर नै बस्छन् । नेपालमा सक्रिय जनसंख्या बालबालिका र वृद्धवृद्धाको तुलनामा धेरै रहेको प्राध्यापक शर्मा बताउँछन् । करिब ५३-५४ प्रतिशत सक्रिय जनशक्ति रहेको अनुमान छ ।

शर्माका अनुसार यस्ता सक्रिय जनशक्तिले नेपालभित्रै काम पाएको भए यहीँ काम गर्थे, बिहेबारी गर्थे, सन्तान जन्माउँथे । अहिले त धेरै युवा देशबाहिर छन्, यसले गर्दा विवाह नगरेकाहरुको बिहे हुने उमेर बढ्यो, विवाह भएकाहरु पनि घर छोडेर गएपछि बच्चा जन्मिने अवस्था रहँदैन ।

‘प्रजनन क्षमता बढी हुने उमेर समूहका जहान जति धेरै सँगै बस्छन्, बच्चा जन्मिने सम्भावना पनि उत्तिकै बढी हुन्छ,’ उनी भन्छन्, ‘अहिले बसाइसराइको दर पनि उच्च छ । शहरमा बस्ने भएपछि त्यहाँको आर्थिक जीवन महँगो हुन्छ । त्यसैले मान्छेले धेरै सन्तान जन्माउन चाहँदैनन् ।’

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत