काठमाडाैँ । सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ । सर्वोच्चको उक्त आदेश कार्यान्वयन गराउन सम्भव भएको सरोकारवाला पक्षको भनाइ छ ।
नेपाल पोलिसी इन्स्टिच्यूट (एनपिआई)द्वारा आइतबार भर्चुअलरुपमा आयोजित नीति संवाद शृङ्खलामा सरोकारवालाले प्रविधिको प्रयोगबाट मताधिकार गर्न सम्भव रहेको बताए । “जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्छ । यस सन्र्दभमा निर्वाचन आयोगबाट अध्ययन पनि भइसकेको छ”, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भन्नुभयो, “अदालतको आदेश छ तर यसको कार्यान्वयन भइरहेको छैन ।”
निर्वाचन आयोग र परराष्ट्र मन्त्रालयको समन्वयमा विदेशमा रहेका नेपालीको मतदाता नामवलीमा समावेश गर्न सकिने उहाँका मत छ । “राहदानी वनाउदा फोटो र औँठा छाप लिइएको हुन्छ । मतदाता परिचयपत्र बनाउँदा पनि फोटो र औँठा छाप लिइन्छ”, उहाँले भन्नुभयो, “त्यही सूचना निर्वाचन आयोगले परराष्ट्रबाट लिन सक्छ ।” कार्यक्रममै सहभागी एक वक्ताले विदेशबाट पठाएको नोट चल्ने भोट नचल्ने भन्दै प्रश्न गरेका थिए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्नुको विकल्प राज्यसँग नभएको बताउनुभयो । सर्वोच्चले २०७४ विदेशमा रहेका नेपालीलाई मतधिकार दिलाउन आदेश दिएको थियो । एनपिआइका अध्यक्ष खगेन्द्र ढकालले ५६ प्रतिशत घरधुरीको चुलो बाल्ने श्रमिकको हितमा सर्वोच्चले गरेको फैसलालाई कार्यान्वयन गर्ने निकाय कामलाई हेर्नुपर्ने बताउनुभयो । “फिलिपिन्स, मेक्सिको, इन्डोनियाले विदेशमा रहेका नागरिकलाई मताधिकार दिइसकेको छ । यो हामीलाई आधार हुनुपर्छ”, उहाँले भन्नुभयो । कार्यक्रमको सहजकर्ता अधिकारकर्मी सरु जोशीले ‘नोट चले पनि भोट नचलेको’ भन्दै राजनीतिक दलमाथि दबाब बढाउनुपर्ने बतानुभयो ।