बिहिबार, मंसिर १४, २०८०
  • गृहपृष्‍ठ
  • समाज
  • क्रियामा बराबर तर विपरीत प्रतिक्रिया: ४ न्यायाधिशलाई महाभियोग लाउने सुरमा एमाले

क्रियामा बराबर तर विपरीत प्रतिक्रिया: ४ न्यायाधिशलाई महाभियोग लाउने सुरमा एमाले


कान्तिपथ


नेकपा एमालेले चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।

महाअभियोग प्रस्तावबारे छलफल गर्न एमालेले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकमा सांसदहरुको हस्ताक्षर संकलन गर्ने र महाअभियोग प्रस्ताव दर्ता हुने एमालेका एक पदाधिकारीले बताए ।

सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि आइतबार साँझ आकस्मिक रुपमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुपर्ने बताएका थिए ।

हिजो एमाले सचिवालय बैठकले जबराविरुद्धको महाअभियोग प्रस्ताव अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम भएको निष्कर्ष निकाल्दै असफल पार्ने निर्णय गरेको थियो । एमाले उपमहासचिव विष्णु रिमालले जबराविरुद्धको महाअभियोग प्रस्तावलाई एमालेमाथि ढुंगा हानिएको भनेर टिप्पणी गरेका छन् । हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुने भन्दै रिमालले सामाजिक सन्जालमा आज लेखेका छन्, ‘गठबन्धन भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ । ढुंगा सर्वोच्चमा बज्रिएको छ ।’

उनले थप लेखेका छन्, ‘फर इन एभ्री एक्सन, दियर इज आयन इक्वेल एण्ड अपोजिट रियाक्सन ! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नी ?’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत