एमसीसीको विरोधमा सत्ता गठबन्धन दलकै जनवर्गीय संगठन सडकमा उत्रिएका छन् । सरकारले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठनले आन्दोलन घोषणा गरेका हुन् ।
माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र वाइसियलले यथास्थितिमा एमसीसी टेबल गर्ने कदमविरुद्ध संसद् भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम छ । अनेरास्ववियुका नेताहरूका अनुसार बिहान ११ बजे बानेश्वरस्थित एभरेस्ट होटेल अगाडि भेला भएर संसद् भवनसम्म प्रदर्शन गरिनेछ ।
एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि एमसीसीविरुद्ध संसद् भवन घेराउ गर्दै छ । एमसीसीबारे रणनीति तय गर्न आज बिहान १० बजे माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ ।
एमसीसीविरुद्ध आज अन्य दल र समूहले पनि प्रदर्शन गर्ने भएका छन् । एमसीसीकै विरोधमा आज नेपाल बन्दको घोषणा गरेका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले देशभर प्रदर्शन गर्ने कार्यक्रम छ ।
उपत्यकामा दिउँसो १२ बजे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन हुने नेताहरूले बताएका छन् । पूर्व सुरक्षाकर्मी परिषद् र नेपालका लागि नेपाली पार्टीले बिहान साढे ११ बजे माइतीघरमा एमसीसीको विरोधमा मौन जुलुस गर्ने कार्यक्रम छ ।
हाम्रो नेपाल, हामी नेपाली अभियानले पनि दिउँसो १२ बजे माइतीघरमा विरोध प्रदर्शन गर्दै छ । राप्रपाका भातृ संगठनले पनि दिउँसो १२ बजे बबरमहलदेखि संसद् भवनसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ