नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा एमसीसी टेबल नगर्न प्रधानमन्त्रीलाई आफूले गरेको आग्रह नमानिए सरकारबाट बाहिरिने घोषणा गरेका छन् ।
पार्टी संसदीय दलकाे बैठकलाई सम्बाेधन गर्दै प्रचण्डले सदनमा जबर्जस्ती एमसीसी टेबल भए सरकारबाट बाहिरिने र त्यसबाट पर्ने सबै असर व्यहोर्न तयार रहेको बताए ।
उनले भने, ‘आज टेबुल नगर्नको निम्ति हामी अनुरोध गर्छौं, जबर्जस्ती टेबुल भयो भने त्यसबाट पर्ने सबै असर व्यहोर्न तयार छौँ, सरकार छोड्ने हो कि गठबन्धन तोड्ने हुन्छ कि परेको व्यहोर्ने हो ।
उनले एमसीसी सदनमा टेबुल हुनुपूर्व दलहरूबीच राष्ट्रिय सहमति जुट्नुपर्ने बताए । ‘पहिला संसद सुचारु हुनुपर्यो । सहमति हुनपर्याे । सहमति नभइकन पेस भयो भने त्यसपछि सरकारमा बस्ने कि नबस्ने भन्ने हुन्छ, हामी पर्यो भने सरकार छोड्छौँ’, बैठकमा प्रचण्डले भने ।
बैठकले यथास्थितिमा एमसीसी पारित नगर्ने निर्णय गरेको छ । सरकारले जबर्जस्ती संसदमा एमसीसी टेबुल गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिएका छन् ।
एमसीसीको मुद्दामा सर्वदलीय छलफल गरी राष्ट्रिय सहमति कायम गरेर मात्र अघि बढ्नुपर्ने माओवादीको भनाइ छ । कम्तीमा सरकारमा रहेका दलहरूबीच सहमति हुनुपर्ने बैठकले निर्णय गरेको छ ।
सरकारमा रहेका पाँचवटै दलबीच सहमति नभइ एमसीसी अगाडि बढाइए आफूहरू सरकारबाट बाहिरिने माओवादीको भनाइ छ । ‘पाँच दलको निर्णयबिना सरकारको निर्णय हुन सक्दैन । गठबन्धनको निर्णयबिना सरकार वा कुनै घटकले अगाडि बढायो भने गठबन्धन तोडियो भन्ने हुन्छ । गठबन्धन तोडिनु भनेको सरकारबाट स्वत: अलग हुने कुरा हो ।’
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले एमसीसी सदनमा पेस गर्ने र अनुमोदनको पक्षमा उभिने निर्णय गरेको थियो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीलाई आफूहरूले नाफाघाटाको रूपमा नहेर्ने बैठकमा प्रष्ट्याएका थिए ।
त्यस्तै सदन सुचारु नभइ कुनै एजेण्डा अघि बढ्न नसक्ने भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई सदन अवरोध नगर्न आग्रह गर्ने पनि निर्णय भएको गुरुङले बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ