प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
देउवा र प्रचण्डबीचको भेटवार्तापछि दिउँसो ३ बजे बोलाइएको सत्ता गठबन्धनको बैठक पनि सरेको छ। प्रेस संयोजक परियारका अनुसार गठबन्धनको बैठक बेलुका ५ बजे बालुवाटारमा नै बस्ने भएको छ। मन्त्रिपरिषदको नियमति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्छ । सत्ता गठबन्धनमा एमसीसी पेचिलो भइरहेका बेला मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
आजको बैठकमा एमसीसी सम्झौताबारे विशेष छलफल हुने काँग्रेसका एक मन्त्रीले जानकारी दिए । नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अघि बढाए सरकार छोड्ने निर्णय गरिसकेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आजको गठबन्धनको बैठक एमसीसीका विषयमा निर्णायक हुने बताएका छन्। ‘एमसीसीका विषयमा समय थप्ने, अलमलाएर ढिलो गर्ने भन्ने कुरो नै हुँदैन,’ उनले भने, ‘आज नेताहरुको बैठक बस्दैछ। यो निर्णायक छलफल हो। उहाँहरुको जे दृष्टिकोण आउँछ। त्यही अनुसार हामी पनि प्रस्तुत हुन्छौं।’
उनले अब एमसीसी कार्यान्वयनको विषयलाई लिएर गठबन्धनमा सम्झौता नहुने प्रष्ट पारेका छन्। ‘हामी त पेस हुनुपर्छ, छलफल गराउनुपर्छ भनिरहेका छौं। अनेक कुरा गरेर टार्ने भन्ने हुँदैन,’ प्रवक्ता महतले भने, ‘अब धेरै दाया बाँया हुँदैन। उहाँहरुले नस्वीकार्ने नै हो भने प्रष्ट भन्नुपर्यो।’
प्रवक्ता महतले गठबन्धनमा रहेका दलले जे चाहना हो त्यसै अनुसार अघि बढ्नुपर्ने र प्रष्ट हुनुपर्ने धारणा राखे। ‘उहाँहरुले जे चाहनुहुन्छ त्यही गरे भो। भोट हाल्न चाहनु भएन भने उहाँहरुको कुरा भयो,’ उनले भने, ‘अल्झाइरहने भन्ने कुरा हुँदैन अब।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ