शुक्रबार, बैशाख ७, २०८१

अपर तामाकोशी आएपछि प्राधिकरण ६ महिनामै दोब्बर नाफामा


कान्तिपथ


चालू आर्थिक वर्षको सुरुमै अपर तामोशीबाट विद्युत उत्पादन सुरु भएपछि त्यसको प्रतिफल विद्युत प्राधिकरणमा देखिएको छ। ४ सय ५६ मेगावाटको अपर तामाकोशीको विद्युत चालू आर्थिक वर्ष देखि सुरु भएको छ।

त्यसको विद्युत खरिद दरले दिएको प्रतिफलको कारण विद्युत प्राधिकरणको नामा समेत प्रभाव पारेको देखिएको हो। प्राधिकरणले गत वर्षको कुल नाफाभन्दा चालू आर्थिक वर्षको ६ महिनामा नाफा नै दोब्बर बनाएको देखिएको छ।

प्राधिकरणले उपलब्ध गराएको तथयाङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०७८/७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ। प्राधिकरणको वित्तीय विवरण अनुसार गत आव २०७७/७८ मा ६ अर्ब १८ करोड नाफा रहेको थियो। चालू आवको पहिलो ६ महिनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। योसँगै सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ।

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण, भारतर्फ विद्युत निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत आयातमा कमी, विद्युत बिक्रीमा बृद्धि, अन्य आयमा बृद्धिका कारण चालु आवको ६ महिनामा संस्था उलेख्य नाफा आर्जन गर्न सफल भएको बताए।

कार्यकारी निर्देशक घिसिङले भने, ‘सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम, ४५६ मेगावाटको अपर तामाकोसीसँगको विद्युत खरिद दर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा केही सस्तो हुनु पनि नाफा बढ्नुको कारण हो।’

‘पुसबाट लागू हुने गरी उपभोक्ता महसुल समायोजन भएको छ, यसबाट चालू आवको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्न सक्छ तर चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका छौँ’, घिसिङले उल्लेखको नेपालखबरले लेखेको छ।

प्राधिकरणले चालु आवको ६ महिनामा ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ। प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत बिक्री र खरिदमा हुने गरेको छ। प्राधिकरणको विदेशी दातृ निकायहरुको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ।

नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोडको रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ। प्राधिकरणको पँुजीकृत सम्पत्ति १ खर्व ६५ अर्ब, पुँजीकृत हुन बाँकी सम्पत्ति १ खर्व ५२ अर्व, सहायक कम्पनीहरुमा लगानी ३५ अर्व ३४ करोड र ऋण लगानी ३२ अर्व ५० करोड रहेको छ। तरल पुँजी ८५ अर्ब १ करोड रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत