सोमवार, अशोज २८, २०८१

माहामारी कम भएपछि सीमा नाकामा आवतजावत सहज


कान्तिपथ


कोरोनाको तेस्रो लहर क्रमशः कम हुँदै गएको छ । योसँगै मुलुकभरको जनजीवन सामान्य लयमा फर्किएको छ । छिमेकी मुलुक भारतमा समेत संक्रमण कम भएपछि नाकाबाट हुने आवतजावत सहज भएको छ । तर, नाकामा राखिएका हेल्थ डेस्कमा हुने परीक्षण र खोप कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

भारतमा कोरोना महामारी फैलिएपछि पहिलो र दोस्रो लहरमा जस्तै तेस्रो लहरमा पनि यो नाकाबाट रोजगारीका लागि गएका सयौं मानिस स्वदेश फर्किए । भारतबाट आएका अधिकांशमा कोरोना संक्रमण देखिन थाल्यो र नेपालमा पनि संक्रमण तीव्र रुपमा फैलियो । नाकामा स्वास्थ्य चेकजाँच सँगै आउजाउमा पनि कडाइ गरियो । तर पछिल्ला दुई साता यता भने संक्रमण दर घटेसँगै नाकाको अवस्था सामान्य उन्मुख भएको छ । त्रिनगर-गौरीफन्टा भन्सार नाका जस्तै पश्चिम कञ्चनपुरको गड्डाचौकी, नेपालगन्जको जमुनाहा, रुपन्देहीको वेलहिया, वीरगन्ज, विराटनगरको रानी र पूर्वी झापाको काँकडभिट्टासम्मको अवस्था पनि उस्तै छ । सबै नाकामा आउजाउ सहज छ । एन्टिजेन परीक्षण र खोप कार्यक्रमलाई भने निरन्तरता दिइएको छ ।

कोरोना महामारीका बेला पनि सीमा नाकाबाट धेरै नेपाली स्वदेश फर्किए । नाकामा स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको व्यवस्था नहुँदा नेपालमा संक्रमणले भयावह अवस्था निम्त्याएको थियो । पहिलोभन्दा दोस्रो र दोस्रो भन्दा तेस्रो चरणमा नाकामै चेकजाँच र परीक्षणको व्यवस्था गरिएका कारण सहज भएको थियो । अझै पनि संक्रमण पूर्णरुपमा नियन्त्रणमा आएको छैन । यो अवस्थामा नाकामा रहेका हेल्थ डेस्क यथावत् राख्दै परीक्षणलाई निरन्तरता दिने मात्र होइन, सचेतनाका कार्यक्रम पनि सँगसँगै अघि बढाउनुपर्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत