शनिबार, चैत्र ९, २०८१

कार्यकर्ता सडकमा उफारेर सदनमा एमसीसी पास गर्दै सत्ता गठबन्धन


कान्तिपथ


प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसाे बस्दैछ । दिउँसाे १ बजे बस्ने बैठकमा एमसीसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ । साेही अनुसार आजकाे सम्भावित कार्यसूचीमा एमसीसी समावेश गरिएकाे छ ।

संसद् सचिवालयले शनिबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

यसअघि सरकारको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो। शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आइतबारका लागि सारिएको हो ।

संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ ।

हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य कायम छन् । एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक(एक सांसद छन् ।

सरकार जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागि परेको छ भने सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे विवाद छ ।

तर नेपाली कांग्रेसले सत्ता गठबन्धत तोडेर प्रमुख विपक्षी नेकपा एमालेका माग सम्बोधन गर्ने दिशामा पहल अघि बढाएपछि नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसीसी अनुमोदनमा सघाउने वचन दिएका छन् ।

स्रोतका अनुसार ११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको छ । उक्त सहमतिमा माओवादी केन्द्र र एकीकृत समाजवादीले संस्थागत निर्णय लिन बैठक बोलाएका छन् ।

बैठक सकिए लगत्तै गठबन्धनको बैठक बसेर एमसीसी पास गर्ने निर्णय लिने बुझिएको छ । आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथिको छलफल अघि बढाइने कार्यसूची छ । फोटो: कान्तिपुर



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत