बुधबार, माघ २, २०८१

एमसीसीका ११ बुँदा संसोधनको तयारी: माओवादी र समाजवादीको बैठक बस्दै


कान्तिपथ


मिलेनियम च्यालेन्ज कर्पोसन (एमसीसी) बारे छलफल गर्न नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कार्यालयको अनौपचारिक बैठक बसिरहेको छ । परिमार्जनसहित एमसीसी पारित गर्न माओवादी नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जुटेका हुन् ।

स्रोतका अनुसार ११ बुँदे परिमार्जनसहित एमसीसी पारित गर्नका लागि गठबन्धन सहमति नजिक पुगेका छन् । परिमार्जनको ड्राफ्ट समेत तयार भइसकेको छ । त्यही ड्राफ्टका विषयमा छलफल गर्न माओवादी नेताहरू यति बेला छलफल गरिरहेका छन् ।

एमसीसी पारित गर्ने विषयमा माओवादीमा पनि दुई धार रहेको छ । एक पक्ष अहिलेकै अवस्थामा कुनै पनि हालतमा एमसीसी सम्झौतालाई पारित गर्न नसकिने अडानमा रहेको छ । अर्को पक्ष भने गठबन्धन जोगाउनका लागि एमसीसीको विषयमा लचक देखिएको छ ।

माओवादी बैठक लगत्तै गठबन्धनको बैठक बसेर परिमार्जनको मस्यौदालाई अन्तिम रूप दिने नेताहरूको तयारी छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा एमसीसीमाथिको छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ । प्रतिनिधि सभाको बैठकअघि नै गठबन्धनमा सहमति जुटाउने नेताहरूको तयारी रहेको बुझिएको छ ।

परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ । सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एसले सचिवालय बैठक बोलाएको हो ।

प्रतिनिधिसभा बैठकको दुई घन्टा अघि अर्थात् बिहान ११ बजे बस्ने बैठकले एमसीसी परियोजनाका बारेमा पक्षमा उभिने कि सो परियोजनाका बारेमा विरोध दर्ज गराउँदै अगाडी बढाउन दिने ? भन्ने मध्ये एक विकल्पमा आवश्यक निर्णय लिनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत