प्रतिनिधि सभाको आइतबारको बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु भएको छ। सैद्धान्तिक छलफलका लागि प्रत्येक सांसदलाई ५ मिनेट समय छुट्टयाइएको छ।
बैठकलाई एमालेले अवरोध गर्दै आएको छ। गत भदौदेखि जारी अवरोध आइतबार पनि जारी राखिएको हो। सभामुखले बैठक सुरु गर्नासाथ एमालेका सांसद्हरु बैठक अवरोध गर्नका लागि वेल घेराउ गर्न अघि बढेका थिए।
तर, एमालेले वेल घेराउ जारी राखे पनि सोही पार्टीका सांसद् भीम रावलले भने सैद्धान्तिक छलफलमा भाग लिएका छन्। उनी रोस्ट्रममा पुगेर एमसीसीको विपक्षमा धारणा राखेका छन्। एमसीसीले राष्ट्रिय हितमा गम्भीर आघात पुर्याउने उनको धारणा छ । उनले रोस्ट्रमबाट नै एमसीसी पास गर्ने सांसदहरुलाई राष्ट्रघाती भनेका छन् ।
नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौतासँगै पेस हुन लागेको व्याख्यात्मक घोषणाका कारण यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन्। एमसीसी सम्झौताको सन्दर्भमा सुरुदेखि नै विरोध गर्दै आएका गुरुङले दलहरुका बीचमा भएको सहमतिले एमसीसीको सम्झौता आर्थिक परियोजनामा मात्र राख्न सकिएको दाबी गरे।
‘सुरुमा नेपालको कानुनहरु निस्क्रिय हुने र अमेरिकी कानुन हावी हुने भएको थियो,’ उनले भने, ‘यस प्रकारको सम्झौता संशोधन नगरी हुँदैन भनेर हाम्रो पार्टीले सुरुदेखि भन्दै आएको अवस्था हो। माओवादी केन्द्र लगायतका केही घटकका बीचमा संशोधनको कुरा आकर्षण हुनेगरी घोषणा आउने कुरा सुन्नमा आएको छ। यो सकारात्मक छ।’
उनले यो प्रस्तावमा विरोधको सूचना र संशोधनको प्रक्रिया राखेको नदेखिएको भन्दै उनले राजनीतिक दलले यो बुँदामा संशोधन हुन्छ भनेर ल्याउनु सकारात्मक भएको दाबी गरे। ‘एमसीसी कम्पनीलाई हामीले गरेको घोषणा स्वीकार हुन्छ कि हुदैन?’ उनले भने, ‘स्वीकार हुन्छ भने सकारत्मक भएको छ। नत्र हुँदैन।’
उनले यो गम्भीर प्रकारको कुरा भएकाले सहमति कायम गरेर अघि बढ्नुपर्ने बताए। विगतमा धेरै आर्थिक परियोजना सञ्चालन भएको, तर यो फरक रहेको र नेपालको कानुन र सार्वभौम अधिकार मिच्ने गरी आएको गुरुङले दाबी गरे।