दोलखा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोलखाको सिमानामा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङ पुगेका छन् । शैलुङ साहित्यिक-सांस्कृतिक महोत्सव २०७८ उद्घाटनका लागि ओली शैलुङ आइपुगेका हुन् ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले नेपालको प्रसिद्ध शैलुङ थुम्कामा आयोजना गरेको महोत्सवमा सो क्षेत्रका आदिवासी जनजातिका झाँकीहरू प्रदर्शन भएका छन् । ओलीलाई शैलुङ गाउँपालिका दोलखा र दोरम्बा शैलुङ गाउँपालिका रामेछापबाट स्वागत गरिएको छ । महोत्सव उद्घाटनअघि अध्यक्ष ओलीले कालिञ्चोक भ्रमण गरेका थिए ।
ओलीले कालिन्चोकमा नवनिर्मित केबुलकारको समेत उद्घाटन गरेका छन् । ओलीदम्पत्तीलाई एमालेका नेता तथा केबुलकार सञ्चालक बालकृष्ण शिवाकोटी,अशोक शिवाकोटी लगायतले स्वागत गरेका थिए । कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्ष बालकृष्ण शिवाकोटीले शुक्रबार बिहान केबलकारको उद्घाटन भएको जानकारी दिए । २०७५ सालबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको सो केबलकारको औपचारिक रुपमा उद्घाटन भने भएको थिएन ।
केबलकारबाट मन्दिरसम्म पुग्न पाँच मिनेट मात्र लाग्ने उनले उनले बताए । केबलकारबाट कुरी बजार र हिमालका मनोरम दृश्य नजिकबाट नियाल्न सकिन्छ । कालिञ्चोक केबुलकार ४५ करोड रुपियाँ लागतमा सम्पन्न भएको हो ।
स्वीस प्रविधिबाट निर्माण गरिएको केबुलकार मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको छ । केबुलकार सञ्चालनमा आएसँगै दोलखाको विकासका लागि सहज हुने विश्वास गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ