ललितपुरको कोन्ज्योस्योम गाउँपालिका–४ नल्लुमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । स्थानीय काइली स्याङतानको परिवार आइतबार राति खाना खाई सुतेकोमा आज बिहान मृत फेला परेका हुन् ।
वडाध्यक्ष तीर्थ घलानका अनुसार चार जना घरमै मृत फेला परेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, कोन्ज्योस्योमबाट प्रहरी निरीक्षकको टोली, चापागाउँबाट प्रहरी नायब उपरीक्षकको टोली र परिसर ललितपुरबाट टोली खटिएको छ ।
मृत्यु हुनेमा घरमूली ५५ वर्षीया काइली स्याङतान, बुहारी २२ वर्षीया सुष्मा स्याङतान, ९ वर्षीय नाति आशीष, ५ वर्षीया नातिनी आशमा र २ दिनको नवजात शिशु छन् । शिशुको पाटन अस्पतालमा उउपचारको क्रममा मृत्यु भएको हो । छोरा २३ वर्षीया सुभाष भने घाइते रहेको र उनको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ललितपुर प्रहरीका अनुसार घटनास्थलमा आगो बालेको कोइला र केही वान्ता भएको जस्तो अवस्था देखिएको छ । घटनाको कारण अझै खुलिसकेको छैन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ