सोमवार, बैशाख १५, २०८२

‘दैव पनि निमुखा र गरिबलाई च्याप्दो रहेछ’


कान्तिपथ


सुदूरपश्चिम, २६ फागुन वर्षौको प्रतिक्षापछि सन्तान प्राप्तिको धोको पूरा हुँदा डडेलधुरा सकायल गाउँका नरेश राना मिर्गाैलाको समस्याले ग्रसित हुनुभएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा डायलासिसको उपचार गराइरहेको ३३ वर्षीय रानाले भन्नुभयो, ‘‘बल्लतल्ल छोरा के पाएको थिएँ, उसले मुन्टा (टाउको)मै ठूलै भार बोकाएर आएछ ।’’ हरेक परिवारमा सन्तान प्राप्तिले खुसी छाउछ तर जन्मिएको आफ्नो शिशु (छोरा) मुन्टाको भार लिएर जन्मिएको रूपमा उहाँले पीडा पोख्नुभयो । रानाले भन्नुभयो, ‘‘पत्नीको चाँैथो पटक बसेको गर्भवाट छोरो जन्मिएको २२ दिन पुग्दा आफू भने अस्पतालको शय्यामा दुवै किड्नीले काम नगरेपछि छ्पटिनु परेको छ, दैव पनि निर्धो र गरिबलाई च्याप्दो रहेछ ।’’

यसअघि पत्नीको पहिलो गर्भ छ महिना, दोस्रो गर्भ चार महिना र तेस्रो गर्भ सात महिना पुग्दा नपुग्दै पेटमै खेर गएको उहाँको भनाइ छ । जन्मिएको शिशु र आमाको स्वास्थ्य अवस्था भने सामान्य छ । अस्पतालले निःशुल्क रूपमा डायलासिस सेवा उपलब्ध गराउने गरे पनि उपचारका क्रममा उहाँलाई अहिलेसम्म लाखौं ऋण रकमको बोझसमेत थपिएको छ । ‘‘उपचार सेवा निःशुल्क भइरहेपनि अन्य खर्चका लागि रु चार लाख ऋणको बोझ थपिइसकेको छ’’, रानाकी आमाले भन्नुभयो, ‘‘छोरालाई सुरुमा मुखबाट रगत निस्केपछि स्वास्थ्य जाँच गराउँदा किड्नीमा समस्या देखिएको थाहा भयो ।’’

सेती अस्पतालमा हप्तामा दुई दिन डायलाइसिसको उपचार गर्ने गरिएको उहाँले बताउनुभयो । लामो समयदेखि (नेकपा माओवादी) केन्द्रको भातृ सङ्गठन वाइसिएलमा सङ्गठित हुनुभएका राना आफूलाई समस्या पर्दा कसैले सोधिखोजी र सहयोग नगरेको गुनासो गर्नुभयो । ‘‘उतिबेला गाउँमा सुरक्षित रूपमा बस्ने वातावरण नहुँदा माओवादीतिर लागियो, अहिले आफ्नो यो हालत हुँदा मृत्युको मुखमा पर्न लागियो’’, उहाँले दुःखेसो सुनाउनुभयो । बीस वर्षअघि देखि नै माओवादीमा आवद्ध भएका रानाले भारतको मद्रासमा बसेर त्यहाँ रहेका नेपालीलाई सङ्गठित पार्नु भएको थियो ।

सेती प्रादेशिक अस्पतालले विसं २०७२ देखि डायलासिसको उपचार सेवा उपलब्ध गराउँदै आएको छ । पछिल्ला तीन वर्षदेखि अस्पतालमा यो सेवा ‘विरङ्ग हेल्थ केयर’ नामको निजी क्षेत्रको स्वास्थ्य संस्थाले ठेक्कामार्फत् उपलब्ध गराइरहेको छ । डायलासिस उपचार सेवाका व्यवस्थापक दीपक भट्टले मिर्गाैलाका बिरामीको हप्तामा दुई दिन उपचार गर्ने गरिएको बताउनुभयो ।

मानिसको शरीरभित्र जम्मा हुने फोहरलाई मिर्गाैलाले बाहिर निकाल्ने गर्छ । तर मिर्गाैलाले काम नगर्दा यस्तो फोहर विशेष प्रकारको मेसिनमार्फत् बाहिर निकालिन्छ । ‘‘बिरामीलाई मेसिनमा राखेर उसको शरीरमा भएको विकार मिर्गाैलाले काम नगरेको अवस्थामा मेसिनमार्फत् बाहिर निकालेर उपचार गर्ने सेवा डायलासिस हो’’, व्यवस्थापक भट्टले भन्नुभयो । सङ्घीय सरकारको नीति बमोजिम अस्पतालमा विरङ्ग हेल्थ केयरले ठेक्कामार्फत् डायलासि उपचार सेवा उपलब्ध गराइहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो ।

‘‘संस्थाले बिरामीलाई निःशुल्क डायलासिसको उपचार सेवा दिइरहेको छ, उपचार गर्दा लाग्ने खर्च संस्थाले सरकारबाट पाउँछ’’, सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, ‘‘सम्झौता बमोजिम सेती प्रादेशिक अस्पतालले भौतिक संरचना र अस्पतालसँग भएको डायलासिस मेसिन उपलब्ध गराएको छ ।’’ मिर्गाैला पीडित बिरामीको एक पटक डायलासिस गर्दा रु दुई हजार ५०० तोकिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत