बिहिबार, मंसिर २७, २०८१

निर्माण व्यवसायीहरु भिड्दै: कसले मार्ला बाजी ?


कान्तिपथ


नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा तथा १२औं अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । अधिवेशन २७, २८ र २९ गते जारी रहने महाधिवेशनले महासंघले नयाँ नेतृत्व पाउनेछ। साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मुल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् ।

साधारण सभा तथा अधिवेशन उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ । महासंघले साधारण सभा तथा अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि र त्यही संख्यामा पर्यवेक्षकको सहभागिता रहने जनाएको छ।

अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्य समिति चयन गर्नेछ । महासंघको ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव १ उपमहासचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुनेछ ।

नेतृत्वका लागि हालका अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे दाबी देखाएका छन् । त्यस्तै हुमनाथ कोइराला र रामशरण देउजाले पनि भित्रभित्रै तयारी गरेको बुझिएको छ ।

सिंह, कोइराला र देउजा नेपाली कांग्रेसनिकट व्यवसायी हुन् । निकोलस पाण्डेलाई नेकपा एमालेनिकट व्यवसायीको समर्थन रहने स्रोतले बतायो । वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार पाण्डे राप्रपाका नेता बिक्रम पाण्डेका छोरा हुन् । अध्यक्षका दावेदार सिंहको महादेव खिम्ती निर्माण सेवा कम्पनी छ भने पाण्डे कालिका कन्ट्रक्सनका मालिक हुन् । हुमनाथ कोइरालाको निकोइ बिल्डस् र रामशरण देउजाको कारकोमल निर्माण कम्पनी छ ।

सिंहविरुद्ध मध्यपहाडी लोकमार्ग, लालबकैया नदी नियन्त्रण आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दुई वटा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । गत वर्ष मल आयातको ठेक्का लिएर समयमै ल्याउन नसकेपछि उनको आपूर्ति कम्पनी ‘होनिको मल्टिपल’ कालोसूचीमा परेको छ ।

लामा कन्ट्रक्सन, तुन्दी कन्ट्रक्सन, स्वच्छन्द कन्ट्रक्सन, रमण कन्ट्रक्सन, रसुवा कन्ट्रक्सन, अनक कन्ट्रक्सन, शर्मा एन्ड कम्पनी, कालिका कन्ट्रक्सन, समानान्तर निर्माण सेवा, लुम्बिनी कन्ट्रक्सन र विरोध कन्ट्रक्सन महासंघका निर्णायक कम्पनी हुन् ।

अहिलेसम्म अध्यक्षका कुनैपनि आकांक्षीले प्यानल घोषणा गरेका छैनन् । निर्माण व्यवसायी महासंघका सदस्यहरु धेरैजसो नेपाली कांग्रेस निकट रहेकाले पाँचै जना आकांक्षीले कांग्रेसको निर्णय कुरिरहेका छन् । उनीहरु कांग्रेसको समर्थन लिन दौडधुपमा पनि लागेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत