मङ्लबार, कार्तिक २०, २०८१

बर्डफ्लु ः काभ्रेमा नमूना सङ्कलन र निगरानी


कान्तिपथ


छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० को तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा थप नमूना सङ्कलन र निगरानीलाई निरन्तरता दिइएको छ । महिनाअघि सङ्घीय राजधानी काठमाडाँैमा बर्डफ्लु भेटिएलगत्तै पूर्वीनाकाका रुपमा रहेको यो जिल्लामा उच्च सतर्कता अपनाउन विभिन्न गतिविधि गर्दै आइएको छ ।

जिल्लास्तरीय प्राविधिक समितिको बैठकले सबै स्थानीय तहलाई पशुपक्षीपालक कृषक तथा व्यवसायीलाई सजगता अपनाउन यससम्बन्धी विविध गतिविधि गर्न आग्रह गरेको छ । “सबै स्थानीय तहमा निगरानीका कामलाई गम्भीरतापूर्वक लाग्न आग्रह गरिएको छ,” प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो । उहाँका अनुसार काठमाडौँ र छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु भेटिएपछि उपत्यकाको पूर्वी सीमानाका साँगामा रात्रिकालीन अवस्थामा परीक्षण व्यवस्थापनका लागि थप जनशक्ति व्यवस्थित गरी उच्च सतर्कता अपनाइएको छ ।

साँगामा चौबिसै घण्टा पशुपक्षीजन्य आयात–निर्यातमा सतर्कता अपनाउँदै नमूना सङ्कलन तथा निगरानी बढाइएको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । साथै, सङ्क्रमण रोकथामका लागि व्यवसायीसँग विशेष छलफल गर्न स्थानीय तहलाई समन्वय गर्न आग्रह गरिएको केन्द्रका प्रमुख राजकुमार हुमागाईंले बताउनुभयो । 

हुमागार्इंका अनुसार जिल्लाको दक्षिण–पूर्वी नाका विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मङ्गलटारमा पक्षीजन्यको जाँच केन्द्र स्थापना गरिएको छ भने जिल्लाअन्तर्गत राजमार्ग जोडिने अन्य नाकामा निगरानी अपनाइएको छ । जिल्लाको विभिन्न स्थानमा बर्डफ्लुको नमूना सङ्कलन तथा परीक्षण गरिएकामा आइतबारसम्मको परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएको केन्द्रले जनाएको छ । केन्द्रले निगरानी बढाउँदै नमूना सङ्कलन तथा परीक्षणलाई निरन्तरता दिइरहेको हुमागाईंले बताउनुभयो ।

जिल्लाको १३ स्थानीय तहमध्ये बनेपा र पनौती नगरपालिकाले सङ्क्रमण रोकथामका लागि व्यवसायीसँग विशेष छलफल र सचेतना कार्यक्रम गरिसकेका छन् । गत माघ १६ गते मोरङको दुई स्थानमा देखिएको बर्डफ्लु सङ्क्रमण त्यसयता चितवन र राजधानी काठमाडौँ तथा उपत्यकाको भक्तपुरमा समेत देखिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत