शुक्रबार, बैशाख ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • मेयर पाण्डेका छोरा विरुद्ध सिमेन्टको पनि मुद्धा: ठगिको पैसा ६ करोड नजिक !

मेयर पाण्डेका छोरा विरुद्ध सिमेन्टको पनि मुद्धा: ठगिको पैसा ६ करोड नजिक !


कान्तिपथ


दाङ तुलसीपुरका निर्माण व्यवसायी अनुप पाण्डेलाई प्रहरीले काठमाडौँबाट दाङ ल्याएपछि उनीविरुद्ध ठगीको थप जाहेरी दर्ता भएको छ। यसैक्रममा दाङको दुधरासस्थित सोनापुर सिमेण्ट उद्योगले पनि ठगीमा जाहेरी दिएको छ। टिप्परसहित सिमेण्टको पैसा नदिएपछि उद्योगले २ करोड ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएको हो।

उद्योगका अधिकारी प्रहरी कार्यालयमा आफै आएर जाहेरी दर्ता गराएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए। कानुन सम्मत जाहेरी आएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

घोराही–तुलसीपुर सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लि.ले स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीलाई पेटी ठेक्का दिएको थियो। समयमै काम गर्न नसकेपछि भारतीय निर्माण कम्पनीले पाण्डेसँग सम्झौता तोडेको थियो।

एसपी काफ्लेले फोरलेनमा काम गरेर पैसा नपाएका मजदुरलाई निवेदनसहित जाहेरी ल्याउन र पीडित व्यवसायीलाई पाण्डेविरुद्ध प्रमाणसहित प्रहरीमा उपस्थित हुन आग्रह गरेका छन्। उनले पाण्डेविरुद्ध ठगीमा धमाधम जाहेरी आइरहेको बताए।

यसअघि एमालेकै जिल्ला सदस्य तथा घोराही उपमहानगरका इन्चार्ज गेहेन्द्र बस्नेतले ठेकेदार पाण्डेविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा दाङ प्रहरीमा जाहेरी दिएका थिए। उनकै जाहेरीका आधारमा पाण्डे पक्राउ परेका हुन्।

पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा हुन्। घोराही–तुलसीपुर सडक निर्माणको क्रममा पाण्डेले घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी बस्नेतको टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको १ करोड ४४ लाख रुपैयाँ नदिएको आरोप छ।

निर्माण व्यवसायी पाण्डेले ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा पनि १६ जनाले पाण्डेविरुद्ध उजुरी दिएका छन्। करिब ६ करोड रुपैयाँ ठगी गरेको भन्दै पाण्डेविरुद्ध उजुरी परेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। पाण्डेविरुद्ध बस्नेतसहित सोनापुर सिमेन्ट उद्योग, व्यवसायी र मजदुरसमेतले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत