आइतवार, माघ ६, २०८१

महिला तथा दलितका लागि निःशुल्क लोकसेवा तयारी कक्षा


कान्तिपथ


बागलुङ नगरपालिकाले दलित र महिलालका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ ।

लोक सेवामा महिला तथा दलितको समान सहभागिता गराउनका लागि नगरपालिकाले यहाँका ५२ महिला तथा दलितलाई तीन महिने लोकसेवामा तयारी कक्षा सञ्चालन गरेको हो ।

नगरपालिकाले लक्षित वर्गलाई लोकसेवामा सम्भावना देखाउनका लागि यो आर्थिक वर्षमा विनियोजन गरेको रु चार लाख २० हजारबाट लोक सेवाको तयारी कक्षा सञ्चालन गर्न थालिएको छ । नगरपालिकाको सहयोगमा लक्षित बर्ग मध्येका महिला र दलितलाई लोकसेवाको ट्युसन पढाउन थालिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “सामाजिक उत्तरदायित्व बहन गर्नका लागि लोक सेवा तयारी कक्षा सुरु गरेको छ, यसका लागि लाग्ने खर्चको व्यवस्थापन नगरपालिकाले गर्नेछ”, उहाँले भन्नुभयो, “नगरपालिकाले तयारी कक्षा सञ्चालन खर्च दलितका लागि ८० प्रतिशत र महिलाका लागि ५० प्रतिशत खर्च नगरपालिकाले व्यहोर्ने छ ।”

अहिले ५२ महिला तथा दलितहरुका लागि लोकसेवा तयारी कक्षा स्थानीय संयोजनकर्ता हेमन्त मल्टी एजुकेशनल ट्युसन सेन्टरमा सञ्चालन गरिएको छ । अहिले २२ महिला र ३० दलितका लागि लोक सेवा तयारी कक्षा दिन थालिएको हो । महिला तथा दलितमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दारका रुपमा उनीहरुलाई स्थापित गराउन लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको नगरप्रमुख पौडेलको भनाइ छ ।

समाज परिर्वतनका लागि महिला तथा दलितको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले उनीहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । अन्य व्यक्तिहरु आएर हाम्रो समाज परिर्वतन गर्ने नभइ यहाँका महिला तथा दलित वर्गले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध हुने उहाँको भनाइ छ ।

लोकसेवा आयोगमा यहाँका महिला तथा दलितको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको बताउँदै गाउँघरमै लोक सेवा तयारी कक्षा सञ्चालन हुने भएपछि यहाँका दलित तथा महिला खुसी भएको नगर शिक्षा प्रमुख धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत