शुक्रबार, बैशाख ६, २०८२

बैतडीका १४४ क्षेत्रमा कृषि गणना


कान्तिपथ


बैतडीमा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत १४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा दश स्थानीय तहका ८४ वटै वडामा कृषि गणना गरिने छ ।

जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार सबैभन्दा बढी डिलाशैनी गाउँपालिकाका १७ स्थानमा कृषि गणना गरिने भएको छ । दोगडाकेदार गाउँपालिका, पुचौँडी, दशरथचन्द र पाटन नगरपालिकाका १६, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका १५, सुर्नया र पञ्चेश्वर गाउँपालिकाका १२ तथा शिवनाथ गाउँपालिकाका नौ स्थानमा गणना गरिने छ ।

नेपालमा २०१८ सालदेखि प्रत्येक दश वर्षमा कृषि गणना गरिँदै आएको छ । गणनाका लागि १२ सुपरीवेक्षक र ५० गणक खटाइने भएको छ । यही चैत २४ गतेसम्म करारमा नियुक्त गरी चैत २५ गतेदेखि उनीहरुलाई तालिम दिइने पन्तले जानकारी दिनुभयो । तालिमपश्चात् आगामी वैशाख ६ देखि जेठ १९ गतेसम्म गणना गरिने छ ।

गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लगाइएको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइने छ । यस्तै कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा जग्गामा स्वामित्वको अवस्थालगायतबारे गणकले तथ्याङ्क सङ्कलन गर्ने छन् ।

कृषिमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्दतिको प्रयोग, माटो परीक्षण, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिने कार्यालयले जनाएको छ । चैत १ गते जिल्ला सदरमुकाममा जिल्ला कृषि गणना कार्यालय स्थापना गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत