बुधबार, बैशाख ५, २०८१
  • गृहपृष्‍ठ
  • विज्ञान – प्रबिधि
  • किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा कोल्डस्टोर (चिस्यान केन्द्र) निर्माण

किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा कोल्डस्टोर (चिस्यान केन्द्र) निर्माण


कान्तिपथ


किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा कोल्डस्टोर (चिस्यान केन्द्र) निर्माण गरिएको छ । सङ्घीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ३० टन भार क्षमताको कोल्डस्टोर निर्माण गरिएको हो । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको रु ५० लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु ४० लाख गरी कूल रु ९० लाखको लागतमा निर्माण गरिएको चिस्यान केन्द्र शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ । लाखौँको कृषि उपज कारोबार हुने बुइपास्थित पञ्चदोबाटोको शुक्रबारे हटियामा यसअघि चिस्यान केन्द्र नहुँदा किसानलाई भण्डारणमा ठुलो समस्या हुने गरेको थियो । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै वर्षौँदेखि कृषकले भोग्दै आएको भण्डारण सम्बन्धी समस्या अन्त्य भएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । चिस्यान केन्द्रमा किसानले उत्पादन गरेका कृषि उपज न्यूनतम मूल्यमा भण्डारण गरेर राख्ने र बाहिरी जिल्लामासमेत निर्यात गर्ने योजना बनाइएको छ ।

चिस्यान केन्द्रमा भण्डारण गरेर राखिएका हरियो तरकारी महिनादिनसम्म र फलफूल चारदेखि छ महिनासम्म सुरक्षित रहने बताइएको छ । किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप चिस्यान केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको स्वामित्वमा रहने चिस्यान केन्द्रको रेखदेख वडा कार्यालयले गर्ने कार्यविधि बनाइएको छ । नगरपालिकाले निर्माण गरेको कार्यविधि अनुसार केही समयपछि बुइपाका कृषक समूहमध्ये उत्कृष्ट समूह छनोट गरेर चिस्यान केन्द्र सञ्चालनको जिम्मा दिइने वडाध्यक्ष राईले जानकारी दिनुभयो । कृषक समूहले किसानका कृषि उपज भण्डारण गरे बापत मासिक रूपमा नगरपालिकालाई न्यूनतम भाडा बुझाउनुपर्ने जनाइएको छ । पञ्चदोबाटोको दुई रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएपछि स्थानीय कृषकहरुसमेत हर्षित भएका छन् । निर्माण उपभोक्तामार्फत निर्माण गरिएको चिस्यान केन्द्र शुक्रबार नेकपा (एमाले) प्रमुख सचेतक विशाल भट्टराईले औपचारिक रुपमा शुभारम्भ गर्नुभयो ।

जिल्लाका किसान तथा कृषक समूहले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूल लगायतका कृषि उपज भण्डारण गर्नेगरी बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र जिल्लाकै पहिलो हो । यसैबीच ऐसेलुखर्क गाउँपालिकामा १०० जना मानिस अटाउने क्षमताको सुविधा सम्पन्न सभाहल निर्माण गरिएको छ । गाउँपालिकाले रु ७६ लाख ८२ हजार ९८२ को ठेक्का आह्वान गरेकोमा सक्षम निर्माण सेवा, सुनसरीले रु ४७ लाख ७६ हजार ८०८ मा गाउँपालिकाको सभाहल निर्माण गरेको हो । चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भएकोमा निर्माण कम्पनीले सम्झौता मिति अगावै निर्माणको काम सकेर गाउँपालिकालाई हस्तान्तरण गरेको छ । सभाहलमा दुईवटा भण्डारण गृहसमेत निर्माण गरिएको छ भने सभाहल बाहिर तीन हात धुने धारा पनि जडान गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत