पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार छान्न नेकपा एमालेमा आज (शुक्रवार) मतदान हुँदै छ। सर्वसम्मत रुपमा उम्मेदवार छान्न सकस भएपछि मतदानको प्रक्रियाबाट उम्मेदवारको टुंगो लगाउन लागिएको हो।
निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो १२ बजेदेखि १ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। निर्वाचन समितिले हिजो बेलुकी मतदाता नामावली प्रकाशन गरेको थियो।
पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुख पदको उम्मेदवारको लागि मतदान हुने भएको हो। पोखरा महानगरपालिकामा एमालेबाट प्रमुख पदका लागि १२ र उपप्रमुख पदका लागि ११ जनाले आकांक्षा देखाएका छन्।
पार्टी उप–महासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्यमा अर्याल र संगठन विभाग प्रमुख खगराज अधिकारी पक्षका दुई दर्जन नेताहरूले उम्मेदवारीमा आकांक्षा देखाएपछि सर्वसम्मत उम्मेदवार छनोट हुन सकेन । मंगलबार बसेको महानगर कमिटी बैठकमा गुरुङ, अर्याल र अधिकारी पक्षका १२ जनाले तीन–तीन हजार शुल्कसहित मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका थिए ।
बिहीबारसम्म सर्वसम्मत उम्मेदवार चयन हुन नसक्दा निर्वाचन समितिले शुक्रबार दिउँसो १२ बजेदेखि १ बजेसम्मका निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । अब निर्वाचन प्रक्रियाबाट एक महिलासहित ३ जनाको नाम निर्वाचित गरी केन्द्रमा पठाउने छ ।
मेयरका लागि पार्टीमा निवेदन दिएकामध्ये मीना गुरुङ, पुष्पज्योति ढुंगाना, भीम कार्की, प्रदेश सांसद राजीव पहारी गुरुङ पक्षका नेताहरू हुन् । यसैगरी प्रदेशसभा सदस्य कृष्ण थापा, दर्शन लामा, रश्मी आचार्य, दीपक पौडेल, सावित्री भण्डारी अधिकारी पक्षका हुन् । अर्याल पक्षका आकांक्षी प्रत्यक्ष रूपमा नखुले पनि उनको सहयोग गुरुङ पक्षलाई रहनेछ । उपमेयरमा वामदेव ढुंगाना, टीकाराम पंगेनी, सुष्मा पौडेल, तेजनारायण अधिकारी लगायत ११ जनाले आकांक्षा देखाएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ