रोल्पा — प्रहरीले रोल्पाको भित्री गाउँमा ठूलो मात्रामा अफिम खेती नष्ट गरेको छ । सूचनाका आधारमा रोल्पा र रुकुमको सीमानजिक पर्ने परिवर्तन गाउँपालिका–४ सिजाखोलामा अफिम खेती भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिजाखोलास्थित जंगलको बीचमा पर्ने जग्गामा ठूलो मात्रामा लागूऔषध (अफिम) को खेती गरिएकोमा प्रहरीले नष्ट गरेको हो । पाछाबाङस्थित इलाका प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक धनबहादुर रानाको कमान्डमा पुगेका ५ जनाको प्रहरी टोलीले बारीमा पुगेर नष्ट गरेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।
स्थानीयले आफ्नो बारीमा निष्फिक्री जंगलको बीच भागमा रहेको करिब ९ कठ्ठा क्षेत्रफलको बारीमा अफिम खेती गरिएको फेला पारिएको थियो । अफिम खेती लगाइएको स्थानमा पुगेका प्रहरीले अफिम नष्ट गरी अनुसन्धान थालेको जनाएको छ । यसअघि पनि प्रहरीले त्रिवेणी गाउँपालिकाको गैरीगाउँमा अफिम खेती फेला पारेर नष्ट गरेको थियो । रोल्पाका मध्य र उत्तरी भागमा चरेस, अफिम खेती गरिएको पाइएको प्रहरीले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ